वीरगंज । बलिउड अभिनेता अक्षय कुमार फिल्म र अभिनयका कारण सधै चर्चामा हुन्छन् । यतिबेला एउटा कार्यक्रममा उनै चर्चित अक्षय कुमारलाई एउटा प्रश्न सोधियो, ‘तपाईं राजनीतिमा आउनुहुन्छ ?’
लण्डनको पल मलमा रहेको इन्स्टिच्युट अफ डाइरेक्टर्समा आयोजित ‘हिन्दुजा एण्ड बलिउड’ पुस्तक विमोचनमा अक्षय कुमारलाई राजनीतिमा आउने बारे सोध्दा उनले आफ्नो काम सिनेमाबाटै गर्ने प्रयास गरेको बताए । अक्षय कुमारले भने, ‘म फिल्म बनाउन पाउँदा निकै खुसी छु । एक अभिनेताको हैसियतमा म सामाजिक मुद्दाहरू उठाउन सक्दो प्रयास गर्छु। म कमर्सियल फिल्म त गर्छु तर, कहिलेकाहीँ सामाजिक मुद्दासँग सम्बन्धित फिल्म पनि बनाउँछु । वर्षमा ३-४ वटा फिल्ममा काम गर्छु ।’
अक्षयले थपे, ‘मैले १५० वटा फिल्म बनाएको छु तर, मेरो मुटुको सबैभन्दा नजिकको फिल्म ‘रक्षा बन्धन’ हो ।’अक्षय कुमारको आगामी फिल्म ‘रक्षा बन्धन’ अगस्ट ११ मा रिलिज हुँदैछ, जसलाई आनन्द एल राईले निर्देशन गरेका हुन् । चलचित्रमा दाजुभाइ दिदीबहिनीको सुन्दर सम्बन्धलाई देखाइएको छ । फिल्ममा अक्षय कुमार र भूमि पेडनेकरको जोडी फेरि देखिनेछ । यसअघि दुवै फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’ मा सँगै देखिएका थिए ।