देशभरका मेडिकल विद्यार्थी काठमाडौंमा, माइतीघर मण्डलमा प्रदर्शन
वीरगंज संजाल
१९ कार्तिक २०७६, मंगलवार १४:५४
३०६५
काठमाडौं | मेडिकल कलेजहरुले तोकेभन्दा बढी शुल्क लिएपछि आन्दोलनरत विद्यार्थीले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।मेडिकल कलेजहरुले शुल्क फिर्ताको माग गर्दा उल्टै दमन गरेपछि उनीहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। ‘सबै निकायमा पुग्दा पनि समस्याको सुनुवाइ भएपछि आन्दोलन गर्न बाध्य भएका हौं,’ चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टले भने।
देशभरका मेडिकल कलेजका विद्यार्थी काठमाडौं पुगेका छन्। उनीहरुले काठमाडौंमै आन्दोलन जारी राख्ने जनाएका छन्। यसको सुरुआत माइतीघर मण्डलबाट गरेका हुन्।
विरोध कार्यक्रममा बोल्दै समितिका अध्यक्ष प्रकाश चन्दले आफुहरुसँग अबैध शुल्क लिएको प्रमाण भएपनि सम्बन्धित निकाय वास्ता नगरेको बताए। ‘ठाउँठाउँमा उल्टै विद्यार्थी कुटिएका छन्, धेरै घाइते भएको छन्। यसको जिम्मा कसले लिने?’ चन्दले प्रश्न गरे।
चिनतवन मेडिकल कलेज, वीरगञ्जस्थित नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजलगायतका कलेजमा शान्तिपूर्ण प्रदर्शन गर्दा मेडिकल कलेज संचालकहरुले कुटपिट गर्न लगाएका थिए।