वीरगंज | घरेलु टोली श्रीलंकाले चौथो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियालाई ४ रनले हराउँदै एक खेल अगावै शृंखला आफ्नो नाममा लेखाएको छ। मंगलबार राति कोलम्बोमा जितसँगै श्रीलंकाले पाँच खेलको शृंखलामा एक खेल अगाबै ३-१ ले जितेको हो। श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियालाई हराएको हो। श्रीलंकाले दिएको २५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाउँदै २५४ रनमा समेटियो। अष्ट्रेलियाका डेभिड वार्नरले सर्वाधिक ९९ रन बनाए।
श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले समान २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २५८ रन बनायो। श्रीलंकाका लागि चारिथ असलन्काले सर्वाधिक ११० रन बनाए। यस्तै, धनन्जय डी सिल्भाले ६० रनको योगदान गरे। अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र पाट कुमिन्सले समान २ विकेट लिए |