वीरगञ्ज । पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संलग्न रहेको आरोपमा दिल्ली प्रहरीले दुई सुटरसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मनप्रीत मनु नामका एक व्यक्तिले सबैभन्दा पहिला मुसेवालालाई गोली हानेका थिए। यही हत्या प्रकरणमा दिल्ली प्रहरी अपराधी खोज्दै नेपालसम्म आइपुगेको थियो। तर, नेपालमा आरोपित व्यक्तिहरु नभेटिएपछि उक्त टोली फर्केको थियो। भारतीय पत्रिका द प्रिन्टका अनुसार दिल्ली प्रहरीको स्पेशल टोलीले अन्य संदिग्धहरुको खोजी गरिरहेको छ। एन्टी टेरर युनिटका प्रमुख एचजीएस धालीवालले कोरोला कारमा सवार भएका मनप्रीत मनुले मुसेवालामाथि गोली चलाएका थिए। घटनालगत्तै मनप्रीत मनु र रुपा उक्त स्थानबाट हिँडेका थिए। प्रियव्रतको नेतृत्वमा रहेको मोड्युल पनि उक्त घटनापछि उक्त स्थानबाट हिँडेको थियो।
हरियाणाको सोनीपत निवासी प्रियव्रत उर्फ फौजी, झज्जर जिल्ला स्थायी ठेगाना भएका कशिश र पञ्जाबको बठिंडा स्थायी निवास भएका केशव कुमारलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुसँग ठूलो मात्रामा हतियार र विस्फोटक पदार्थ समेत प्रहरीले बरामद गरेको छ। प्रहरीले ६ जना सुटरहरुको पहिचान गरेको छ। जसको सिधा सम्पर्क गोल्डी बराडसँग पाइएको छ। मनप्रीत मनुले सिद्धु मुसेवालामाथि गोली चलाए र अन्य ६ जना सुटरहरुले त्यसपछि गोली चलाएको प्रहरीले बताएको छ। स्पेशल सेलको टिमले अहिलेसम्म १९ जनालाई पक्राउ गरेको छ।
प्रियव्रत पहिला पनि पक्राउ परेका अभियुक्त
प्रहरीका अनुसार प्रियव्रतले सुटरहरुको एक टिमको नेतृत्व गरेका थिए। घटनाको समयमा क्यानडामा रहँदै आएको एक ग्याङस्टार गोल्डी बराडसँग सिधा सम्पर्कमा रहेको देखिएको छ। प्रियव्रत घटनाको मुख्य सुटर भएको पाइएको छ। प्रियव्रतले पहिला पनि दुई व्यक्तिको हत्या गरेका थिए। उनी २०१५ मा सोनीपतको एक हत्यामा पक्राउ परेका थिए। २०२१ मा फेरि उनी सोनीपतको अर्को हत्यामा जोडिएका थिए।