वीरगंज | तराई–मधेसको मुख्य पर्वको रूपमा मनाइने छठ पर्वमा किनमेल गर्नेहरूको वीरगंजमा घुइँचो लागेको छ ।आर्थिक नगरी वीरगंजमा बिहीवारदेखि छठको सामान किन्नेहरूको घण्टाघर, विपी पार्क, माईस्थान, टाँगा बजारलगायत क्षेत्रमा बढी चलहपहल देखिएको थियो ।छठ व्रतालु तथा तिनका परिवारजनले छठ पर्वमा लाग्ने आवश्यक सामग्री किनमेल गरिरहेका छन् ।
योक्रम छठको सँझिया घाटे अर्थात् शनिवारसम्म चल्नेछ ।छठमा प्रयोग गरिने बाँसको दउरा, सुपली, नाङ्लो, छैटा, दउरीलगायत फलपूmल र उखुको भाउ आकाशिएको छ । वीरगंज–१५ की अशियादेवीले गत वर्षभन्दा यस वर्षको छठ पर्व निकै महँगिएको बताइन् । उनले भनिन्– बजारमा सबै सामान महँगोमा पाइरहेको छ, एकजनाले छठ पर्व गर्न कम्तीमा ५ हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्छ ।वीरगंज–१० रानीघाटका उमेश साह कानु छठको सामान किन्दै गर्दा टाँगा बजारमा भेटिए । उनले पोहोरभन्दा यस वर्ष सबै सामानमा मनपरी हिसाबले दाम बढाइएको गुनासो गरे ।
पोहोर ८० रुपैयाँ किलोमा पाएको स्याउ यसपालि १२० रुपैयाँ किलोमा, गत वर्ष ६० रुपैयाँमा एक दर्जन केरा पाए पनि अहिले सय रुपैयाँ दर्जन पुगेको छ । त्यसैगरी, अदुवा किलोको ३ सयदेखि ६ सय रुपैयाँमा बिक्री भइरहेको छ । कागत पोहोर एउटाको ५ रुपैयाँमा बिक्री भएको थियो भने यस वर्ष १५ रुपैयाँमा दुईवटा बिक्री भइरहेको छ ।त्यसैगरी, सुथनी, पानको पात, सुपारी, अघ्र्र्यका सामानलगायतमा पनि दाम बढाइएको किनमेल गर्ने व्रतालुहरूले बताएका छन् बाँसबाट बनाइने दउराको मूल्य काशिएको छ । पोहोर ३ सयदेखि ५ सयमा बासको दउरा बेचिएकोमा यसपालि १ हजार रुपैयाँमा बिक्री भइरहेको दउरा व्यवसायी सत्यनारायण यादवले बताए ।
उनले गत वर्षभन्दा यस वर्ष बाँसको आपूर्ति घटेको कारण बाँसका सामानको मूल्य दोब्बरले बढेको उनको भनाइ छ ।ठाकुर राम बहुमुखी क्याम्पसमा नेपाली विषयका पूर्व प्राध्यापक यादव केही वर्षदेखि गाउँघरका डुमसँग बाँसका सामान सङ्कलन गरी राम्रो मुनाफा लिएर बेच्दै आएका छन् । उनले छठको एक महीना पहिले पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीसम्मका डुम जातिलाई पहिले बैना दिएर बाँसका सामान बनाउन लगाउँछन् ।
प्रदेश २ को जनकपुर र वीरगंजमा बाँसका सामान बढी बिक्री हुने गरेको उनले बताए ।यस वर्ष वीरगंजमा मात्रै करीब १० हजार बाँसका दउरा खपत भएको उनको भनाइ छ ।त्यसैगरी, चितवनबाट मगाइएको नाङ्लो पनि गोटाको डेढ सयदेखि दुई सय रुपैयाँमा, सुपली ८० रुपैयाँमा र छैटा ३ सय रुपैयाँमा बिक्री भइरहेको उनले बताए ।