वीरगन्ज | सांसद कृष्णप्रसाद दाहालले प्रदेश राजधानी हेटौँडालाई छुट्याइएको ३० लाख रुपैयाँ बजेट फिर्ता लिन अनुरोध गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले ३० लाख रुपैयाँ बजेट फिर्ता लिन अर्थमन्त्रालय समक्ष अनुरोध गरेका हुन् ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले हेटौँडामा जम्मा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हेटौँडालाई प्रदेश राजधानी भनेर उक्त बजेट विनियोजन गरिएको हो । ‘हेटौँडामा बन्ने भवन कस्तो बनाउने भनेर सर्वे गर्न १० लाख रुपैयाँ र एउटा करिडोर बनाउन २० लाख छुट्याइएको छ,’ दाहालले भने ।
बजेटले आफ्ना मान्छेको निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रीत गरेको आरोप लगाउँदै दाहालले भने, ‘अन्य क्षेत्रमा बजेट नपुगेको भए त्यो ३० लाख रुपैयाँ पनि फिर्ता लिनुहोस् ।’ यस्तै,सरकारले सहर व्यवस्थित बनाउन छुट्याएको बजेट समेत अपुग भएको दाहालको भनाइ । ‘सरकारले संघीय राजधानी र उपत्यका बाहिरका सहरलाई व्यवस्थित बनाउन भन्दै छुट्याएको बजेट अपुग छ,’ दाहालले भने, ‘त्यो पैसाले सहर व्यवस्थित बन्न सक्दैन ।’