वीरगंज । इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइजी टोली दिल्ली क्यापिटल्सका एक सदस्यलाई कोरोना संक्रमण भएको छ। दिल्ली टोलीका सबै सदस्यले आइतबार बिहान आरटीपीसीआर परीक्षण गराएका थिए। आईपीएल व्यवस्थापनले रिपोर्ट नआएसम्म दिल्ली टोलीका सबै सदस्यलाई कोठामा बस्न आदेश दिएको छ।
द इन्डियन एक्सप्रेसका अनुसार पोजिटिभ देखिएका सदस्यले अर्को खेलाडीसँग रुम सेयर गरिरहेका थिए। अहिले उनीहरुलाई अलग राखिएको छ। आईपीएल व्यवस्थापनले डीवाई पाटिलमा आइतबार साँझ चेन्नई सुपर किंग्ससँग हुने खेलबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। दिल्लीका खेलाडीहरूले शनिबार चेन्नईका खेलाडीहरूसँग प्रशिक्षण सत्रमा भेटेका थिए। यद्यपि, चेन्नईका खेलाडीहरुको भने कोरोना परीक्षण गरिएको छैन।