काठमाडौं । नेपाल र भारत सीमासँग जोडिएको प्रायः बजारमा नक्कली चुरोट खुलेआम बिक्री वितरण गरेको पाइएको छ । जनकपुर क्षेत्रमा नेपाली ब्रान्डका नक्कली चुरोट खुकुरी र शिखरको बिगबगी बढेको पाइएको छ । धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्रान्डकै भारतीय नक्कली चुरोटको बिक्री वितरण भइरहेको हो । यो समस्या यी दुई जिल्लामा मात्र नभइ प्रदेश दुईका आठै जिल्लामा रहेको छ । जनकपुर भन्सारले धनुषाको गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर १ लाख १४ हजार रुपैयाँ भन्दा बढी मूल्यको खुकुरी र शिखर ब्रान्डको नक्कली चुरोट बरामद गरेको हो ।
सरकारले नियम बनाए पनि नियमको कार्यन्वयन हुन नसकेकै कारण नेपाली बजारमा नेपाली ब्रान्डकै भारतीय नक्कली सूर्तीजन्य पदार्थको बिक्री वितरण एवं कारोबार हँुदै आएको जिल्ला प्रहरी कार्यालय धनुषाको कार्यालय टोलीले जनाएको छ । सक्कलीमा स्टिकर लोगो रहेको छ भने नक्कलीमा त्यस्तो केही नहुने व्यवसायी बताउँछन् ।अवैध कारोबारीले प्रतिमहिना करिब ३ करोड रुपैयाँ अन्तःशुल्क छलेको अनुमान गरिएको छ ।