काठमाडौं । मेलम्चीको खानेपानी अबको १० दिनमा काठमाडौंमा वितरण सुरू हुने मेलम्ची खानेपानी विकास समितिले बताएकाे छ । पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेसँगै सुरुङमा पानी पठाउने तयारी भइरहेको समितिले जनाएको छ ।
समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको बताए । ‘‘गेट मर्मतको काम भइरहेको छ । सबै गेटको निरीक्षण भोलिसम्म सकिन्छ । अबको तीन–चार दिनमै सुरुङमा पानी पठाउँछौँ,” उनले भने ।
समितिका अनुसार सबैतिरको लेदो, गेग्रान सरसफाइको काम सकिएको छ । गेटहरूको थोरै काम बाँकी रहेको कुँवरले बताए । ‘‘तीन चारदिनमै टनेलको फिलिङ सुरु हुन्छ । टनेलमा पानी पठाउँदा भरिन समय लाग्छ । प्रोटोकल अनुसार काठमाडौंसम्म अस्थायी रुपमा पानी आइपुग्न थप ८–१० दिन लाग्छ,” उनले भने, ‘‘टनेलमा पानी फिलिङ गरेपछि निरन्तर पहिलेजस्तै पानी आउँछ । खानेपानीको टनेल सिधा छैन । पानी भर्ने प्रोटोकल हुन्छ । एकैपटक सबै पानी हान्न मिल्दैन । २६० लिटर प्रतिसेकेण्डको दरले टनेलमा पानी हाल्नुपर्छ ।”
समितिका अनुसार पानी टनेलमा हाल्दै जाँदा कति दिनमा टनेल भरिन्छ भन्ने हिसाब निस्किन्छ । समितिलाई हेडबक्स र सुरुङमा अनुमान गरिएको भन्दा धेरै लेदो जम्मा भएकोले केही जटिलता सिर्जना भएको थियो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले चैत मसान्तभित्र अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने घोषणा गरेका थिए । मन्त्री चौधरीको घोषणा अनुसार पानी नआई केही दिनपछि मात्रै आउने भएको जनाइएको छ
गत असार १ गते र साउन महिनामा गएको बाढीले मेलम्ची खोनपानीमा क्षति पुगेको थियो । खानेपानी आयोजना पुनःनिर्माणका लागि सरकारले ३६ करोड ४५ लाख ३३ हजार रुपैयाँ छुट्टयाएको थियो । अहिलेसम्म खानेपानी आयोजनामा २० अर्ब रुपैयाँ खर्च भइसकेको समितिले जनाएको छ ।
आयोजनाले ०७७ चैत १५ देखि उपत्यकामा परीक्षणका लागि तीन महिनासम्म पानी वितरण गरेको थियो । त्यसपछि केही महिना पानी रोकेर सुरुङ परीक्षण गर्ने तयारी थियो । सुरुङ परीक्षण गर्ने भनिएकै दिन बाढीले आयोजनामा क्षति पुर्याएको थियो ।
२२ वर्षको प्रतीक्षापछि उपत्यकामा मेलम्चीको पानी आउँदा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले करिब तीन महिनासम्म दैनिक १७ करोड लिटर पानी वितरण गरेको थियो ।
हाल काठमाडौं उपत्यकामा ४३ करोड लिटर पानीको माग छ भने ७ देखि ९ करोड लिटर पानी मात्रै आपूर्ति भइरहेको छ ।