निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलका नेताहरूबीच चर्काचर्की भएको छ । आगामी ३० वैशाखका लागि तय स्थानीय तह निर्वाचनका लागि लागू गर्न लागिएको आचारसंहिताबारे छलफल गर्न डाकिएको बैठकमा साना दलका नेता र आयोगका पदाधिकारीबीच विवाद भएको हो ।
आयोग कार्यालयले मंगलबार बिहान साढे ११ बजेपछि आचारसंहितामा प्रतिवद्धता जनाउनका लागि छलफलमा ढाकेको थियो ।
नेपाल समावेशी पार्टीको अध्यक्ष मोतीलाल भारती पहिला निश्चित दलहरूलाई बोलाएर छलफल गरेको र अहिले सबै दलको प्रतिवद्धता चाहियो भनेपछि आफूहरूले आपत्ति जनाएको बताए । उनले प्रतिवद्धता बढेर नसुनाइ छिटो हस्ताक्षर गर्नु भनेपछि आफूहरूले विरोध जनाएको बताए ।
‘उहाँले साइन गर्नुहोस् साइन नगरे बाहिर जानुहोस् भन्नु भएको हो । त्यसो भनेकाले हाम्रो आपत्ति हो,’ उनले भने ।
निर्वाचन आयोगले साना दलप्रति हेपाह प्रवृत्ति देखाएको आरोप लगाए । उनले आफ्ना आवाज उठाइरहँदा निर्वाचन आयोगले छलफल कक्षमा प्रहरीसमेत पठाएको बताए । पछि पदाधिकारीले नेताहरूलाई सम्झाएपछि प्रतिवद्धतामा हस्ताक्षर गर्ने काम भएको उनको भनाइ छ ।