वीरगंज | वर्षेनि ठूलो संख्यामा युवाहरू उच्च शिक्षाका लागि विदेशिने गरेको पाइन्छ । खासगरी स्वदेशमा रोजगारी नभएका कारण उनीहरू विदेशिनु परेको मात्र छैन, उच्च शिक्षा अध्ययनका लागि पनि उनीहरू विदेशिने क्रम बढ्दो छ । हाम्रा शिक्षण संस्थाले उत्पादन गरेका जनशक्तिका लागि उपयुक्त वातावरण हुन नसक्दा त्यो समूह बाहिरिएको देखिन्छ । यसका लागि दक्ष जनशक्ति उत्पादन गरी बजारमा बिक्ने खालको शिक्षा दिन हाम्रा विश्वविद्यालय तयार हुनुपर्ने देखिन्छ ।
शिक्षालाई शीप र शीपलाई उत्पादनसँग जोड्ने शिक्षा नै आजको आवश्यकता हो । व्यावहारिक र प्राविधिक शिक्षामा राज्यले जोड दिन नसक्दा हरेक वर्ष विद्यार्थी अध्ययन गर्न विदेशिने क्रम बढिरहेको छ । एकातिर शिक्षण संस्थामा हुने प्रत्यक्ष राजनीतिक हस्तक्षेप नियन्त्रण गर्न नसक्दा गुणस्तरीय शिक्षामा समेत राज्य पछाडि परेको छ । शिक्षा विकास र समृद्धिको मूल बाटो भएकाले दिगो विकासको लक्ष्य शिक्षाबाट मात्र सम्भव हुन्छ । त्यसैले हाम्रो शिक्षा गुणस्तरीय र समयसापेक्ष हुनु अत्यावश्यक छ ।
आँकडाअनुसार वर्षेनि ६० देखि ७५ हजार युवा विद्यार्थी विदेश अध्ययनका लागि जाने गर्छन् । उक्त जनशक्ति विदेश गएपछि बिरलै फर्कने गरेको देखिन्छ । प्रत्येक वर्ष कम्तीमा अर्बौं रुपैयाँ वैदेशिक शिक्षाका नाममा बाहिरिने गरेको छ । यदि त्यो क्रम नरोकिने हो भने हाम्रो युवा प्रतिभा र पैसा सबै विदेशीको हातमा पुग्छ । यसलाई रोक्न हाम्रा शैक्षिक संस्था सबल हुनु आवश्यक छ । यसका प्रत्येक विश्वविद्यालय राजनीतिले ग्रस्त छन् । सरकारको पूर्वाधार, प्राज्ञिक जनशक्ति भए पनि शैक्षणिक सुधारका पक्षमा कटिबद्ध नहुँदा विश्वविद्यालयहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन् ।
शिक्षा मन्त्रालय र नेपाल सरकारसँग सम्बन्ध नै नराखी विदेश पढ्न जाने विद्यार्थीको संख्या पनि वर्षेनि बढिरहेको छ । आफ्ना विद्यार्थीले समयसापेक्ष गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएका छन् कि छैनन् यसतर्फ राज्यको ध्यान पुग्न सकेको छैन । आकर्षक विज्ञापन र चोकचोकमा खुलेका कन्सल्टेन्सीका कारण उनीहरूको सम्पत्ति सकिएको छ भने ती कन्सल्टेन्सीमार्फत भएका विद्यार्थीले विदेशमा थुप्रै समस्या भोग्नुपरेको पनि देखिन्छ । कतिले त ज्यान पनि गुमाएका छन् ।
विदेशिएको जनशक्तिको ज्ञान र क्षमता स्वदेशी बजारमा कति उपयोगी छ भनेर सरकारले कहिल्यै आकलन गरेको देखिँदैन । अदक्ष कामदारका कारण विश्वबजारमा नेपाली श्रमिकको जीवन पीडादायक र कष्टकरसमेत बन्न पुगेको छ । विदेशमा प्रशिक्षित जनशक्तिलाई कसरी नेपाल फर्काउने र नेपालमै रोजगारी वा व्यवसाय गर्ने वातावरण बनाउने भन्नेमा सरकारको ध्यान पुगेको देखिँदैन । सरकारी नीतिकै कारण उच्च शिक्षाका लागि विदेशिएका युवा नेपालमा कमै फर्केको देखिन्छ । यो प्रतिभा पलायनलाई नरोक्ने हो भने मुलुक अघि बढ्न सक्दैन ।
शिक्षा मन्त्रालयको तथ्यांकअनुसार सन् २०१७/१८ मा ५८ हजार ७५८ विद्यार्थी अध्ययनका लागि विदेश गएका थिए । यसमा अस्टे«लिया जानेको संख्यामात्र ६३ हजार २५९ थियो । जबकि २०१३ मा मात्र जम्मा १६ हजार ५०० विद्यार्थी विदेश अध्ययन गर्न गएका थिए । यसमा १५ अर्ब १२ लाख नेपाली रकम विदेशिएको देखिन्छ । सन् २०१८ को जुन/जुलाईमा सबैभन्दा बढी विद्यार्थीले विदेश अध्ययनका लागि अनुमति लिएको देखिन्छ । सन् २०१८ को तथ्यांकमा ६९ राष्ट्रमा अध्ययनका लागि विद्यार्थी गएको देखिन्छ । यसरी जानेमा ६० प्रतिशतले अस्ट्रेलिया आफ्नो पहिलो शैक्षिक गन्तव्य बनाएको देखिन्छ । त्यसका लागि उनीहरूले ४१ अर्ब नेपाली रकम खर्च गरेको पाइन्छ । २०१८ मा अमेरिका अध्ययनका लागि जानेको संख्या १ हजार ४९१ थियो । यसरी प्रत्येक वर्ष विद्यार्थी विदेशिँदा नेपाली अर्थतन्त्रको ठूलो अंश पनि सहजै विदेशिएको देखिन्छ ।
हालको तथ्यांकअनुसार कुल ३ लाख २३ हजार ९७२ जना विद्यार्थी विश्वका विभिन्न देशमा अध्ययन गर्दै छन् । गतवर्ष ६३ हजार ३ सय ५९ जनाले विदेश अध्ययनका लागि निवेदन दिएका थिए । जबकि २०६८/६९ मा १० हजार ३२४ र २०७४/७५ मा ५६ हजार २१६ जनाले अनुमति पाएका थिए । अस्ट्रेलियापछि उच्च शिक्षाका लागि विद्यार्थीको रोजाइमा परेको जापान दोस्रो हो । गतवर्ष ६३ हजार नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । उच्च शिक्षाका लागि खासगरी नेपाली विद्यार्थीले विश्वका ३९ भन्दा बढी मुलुकलाई शैक्षिक गन्तव्य बनाएको देखिन्छ । मुख्यतया उनीहरू ती देशमा स्वास्थ्य, व्यवस्थापन, विज्ञान प्रविधिलगायत विषयमा अध्ययन गर्न गएको देखिन्छ ।
विद्यार्थीहरू किन विदेशिएका हुन् ? उनीहरूलाई कसरी यहाँ नै स्थापित गराउने भन्नेमा हालसम्म राज्यको ध्यान गएको देखिँदैन । विदेश पढेकाको प्राप्त ज्ञान र शीप स्वदेशी भूमिमा नै प्रयोगमा ल्याउन सरकारले खासै कदम चालेको देखिँदैन । यसका कारण विदेश भएको युवाशक्ति नेपाल नफर्किएको हो । विदेशिएका युवाको मनमा जन्मभूमिप्रति धेरै माया रहेको छ भन्ने कुराको उदाहरण हामीले सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारबाट थाहा पाउन सक्छौं । गाउँमा शिक्षा र अवसर नभएर शहर पस्ने अनि शहरबाट विदेश जानुपर्ने शृंखलाको अन्त्य कहिले हुने हो ? यही क्रमले प्रतिभा पलायन हुने हो सकीनसकी आफ्ना सन्ततिलाई विदेश पठाउने चलन नेपाली समाजमा झन् बढ्दै जाने देखिन्छ ।
लेखक ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अध्यापन गर्छन् ।