रौतहट । छिमेकीको हत्या आरोपमा पक्राउ परेका ४ जनालाई जिल्ला अदालत गौरले पुर्पक्षको लागि कारागार चलान गरेको छ । चन्द्रपुर नगरपालिका–३ गैडाटारका ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको हत्या भएको थियो ।
उनको हत्या आरोपमा छिमेकी डोल प्रसाद वोलखे, प्रल्हाद फुयाल, पर्साको पर्सागढी गाउपालिका–३ का रमेश पहरी र पूर्वी नवलपरासीको कावासोती नगरपालिका–ं८ का सूर्यबहादुर भण्डारीलाई जिल्ला अदालत गौरका न्यायाधीश चित्रबहादुर गुरुङको आदेशले मंगलबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
चौध वर्ष पुरानो तुषले छिमेकी बोलखेले ‘सुपारी’ दिएर गत भदौ २६ गते घोरासैनीको हत्या गर्न लगाएका थिए । उनले फुयाल मार्फत पहरी र भण्डारीलाई रकम दिएर हत्या गराएको प्रहरीको भनाइ छ । त्यसदिन घोरासैनी नजिकको कालापानी सामुदायिक वन उपभोक्ता समुहको बनजंगलमा घाँस काट्न गएको बेला पिछा गर्दै पुगेका भण्डारी र पहरीले घाटी थिचेर हत्या गरेका थिए । उनले आत्महत्या गरेको देखाउन दुबैले त्यहा रहेको पिरपिरे रुखको हाँगामा गम्छाको पासोमा झुण्डयाएका थिए ।
हत्या गर्न बोलखेले प्रल्हादको साथ लिएको खुलेको थियो । मृतकका बुबा भीमदत्तलाई २०६४ सालमा बोलखे परिवारले ‘बोक्सा’ भनेका थिए । भीमदत्तको ०७५ सालमा मृत्यु भइसकेको छ । त्यतिबेलादेखिको रिसिइबी साध्न बोलखेले रोहिणीप्रसादको हत्या गर्न मान्छे लगाएको प्रहरीको भनाइ छ ।