विराटनगर । नेपाल कम्युनिष्ट पार्टी मोरङले दसैंतिहारसहित छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रक्षामन्त्री इश्वर पोखरेलसमते सहभागी हुने पार्टीले जनाएको छ । नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले पार्टी एकता प्रकृयाका कारण लामो समयदेखि कार्यकर्ताहरु प्रशिक्षित हुन नपाइरहेकोले शुभकामना आदनप्रदानकै सन्दर्भमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने तयारी रहेको बताए । उनले भने,‘‘शुभकामनासंगै पार्टी प्रशिक्षण पनि आयोजना गरिएको हो ।’’
चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि देखापरेको राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा आएको फेरबदल आदि विषयमा नेताहरुले प्रशिक्षण दिने बताइएको छ । पार्टी एकतापछि तल्लो तहसम्म विचारमा एकरुपता कायम गर्न जरुरी रहेकोले कार्यक्रममा वार्ड कमिटीदेखि जिल्लामा रहेका प्रदेश कमिटीसम्मका नेता कार्यकर्ताहरुको सहभागिता रहने बताइएको छ । शुभकामना आदनप्रदान कार्यक्रममा न्यूनतम पाँच हजार कार्यकर्ताहरु सहभागी गराउने तयारी रहेको बताइएको छ । कार्यक्रमलाई भव्य बनाउन पार्टी कमिटी, जनवर्गीय संगठनहरु, पेशागत संगठनहरु, युवा विद्यार्थी सबैलाई आवश्यक भूमिकासहित परिचालन गर्ने पार्टीका मोरङ जिल्ला सहइन्चार्ज गोपि अछामीले बताए ।