हङकङ । हङकङकी नेतृ क्यारी लामले मुस्लिम समुदायप्रति क्षमा याचना गरेकी छन् । सहरमा रहेको मुख्य मुस्जिदमा सोमबार प्रहरीले पानीको फोहोरा प्रहार गरेकोप्रति उनले क्षमा याचना गरेकी हुन् । एसियन फाइनान्सियल हबमा प्रजातान्त्रिक समर्थकले प्रदर्शन गरेपछि आइतबार राति गरिएको प्रहरी कारबाहीका क्रममा पानीको फोहोरा प्रहार गरिएकोमा नेतृ लामले क्षमता याचना गरेकी हुन् । नेतृ लाम मंगलबार बिहानै कोलून जिल्लामा रहेको उक्त मस्जिदमा पुगेकी थिइन् । मुस्लिम समुदायप्रति भएको उक्त घटनामा दुख व्यक्त गर्न उनले टाउको शलले छोपेकी थिइन् ।
उनी जापानी सम्राट नारुहितोको राज्याभिषेक समारोहमा भाग लिन उनी जापान प्रस्तान गरेकी छन् । विगत पाँच महिनादेखिको राजनीतिक अस्थिरताका कारण मुस्लिम समुदायले देखाएको धैर्यताप्रति हङकङ सरकारले धन्यवाद व्यक्त गरेको छ । आइतबार राति कोलूनमा प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो भने प्रदर्शनकारीहरुले पेट्रोल बम प्रहार गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन र प्रदर्शनकारीलाई पहिचान गर्न प्रहरीले निलो रंग मिसाइएको पानीको फोहोरा प्रहार गरेको थियो ।