वीरगन्ज | भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ संक्रमित भएको उल्लेख गरिएको थियो भने बिहीबार त्योभन्दा चार हजार बढी देखिएको छ ।
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ४५४ जना नयाँ संक्रमित थपिएका हुन ।सोही अवधिमा १७ हजार ५१६ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले सक्रिय संक्रमितहरुको सङ्ख्यामा पनि बृद्धि भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या एक लाख ७८ हजार ८३१ रहेको जनाएको छ ।भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको कूल संख्या तीन करोड ३४ लाख ९५ हजार ८०८ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म १०० करोडभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।