वीरगन्ज | धनुषा र सिरहा जिल्ला जोड्ने कमलाको पुल पुनः भासिएको छ। निर्माण पूरा नहुँदै हुलाकी राजमार्गअन्तर्गत बनाइएको कमला पुल दोस्रो पटक भासिएको छ। बुधबार दिउँसो धनुषा तर्फबाट ३ नम्बर पिलर भासिएको हुलाकी सडक निर्देशनालयका निर्देशक कृष्णकुमार महतोले जानकारी दिए।
स्पान भासिएको सूचना प्राप्त भएपछि प्राविधिक टोली निरीक्षणका लागि पुलमा पठाइएको महतोले बताए।
असार १७ गते सिरहा तर्फबाट कमला पुलको स्पान भासिएको थियो। निर्माण पूरा भएर हस्तान्तरण गर्ने समयमा पुल पहिलो पटक असार १७ गते भासिएको थियो। सपिट्टाघाटस्थित निर्माणाधीन कमला पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको थियो।
०७८ साल असार १३ गतेसम्म पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौताबमोजिम कार्य सम्पन्न भएको थियो तर हस्तान्तरण गर्न बाँकी रहँदा कमला नदीमा आएको साधारण बाढीमै पुलको स्पान भासिएको थियो। पुल पप्पु कन्स्ट्रक्सन र ज्यान जेभीले ०६८ सालमा ४२ महिनामा पुल निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का पाएका थिए। बीच–बीचमा म्याद थपिँदै अन्त्यमा लुम्बिनी बिल्डर्सले ठेक्का पाएको थियो।