२०७१ फागुन ११ गतेको शीताम्य बिहान । कमलपोखरीका उज्ज्वलविक्रम थापा आफन्त बिरामी भेट्न वीर अस्पताल पुगेका थिए ।देशकै जेठो, पुरानो अस्पताल । रोगी, बिरामीहरू निको बनाउने थलो । विडम्बना आफैं दीर्घरोगी थियो त्यो । मूलढोकाको सङ्घार छिचोल्नासाथ अमिलो–पिरो गन्ध नाकमा ठोक्किन आइपुग्यो ।
दाहिने हातले नाकका दुवै पोरा टाल्दै सिँढी चढ्दै थिए । उनको कानमा खबर ठोक्किन आइपुग्यो– “वसन्तुपुर, झोँछेमा एकाबिहानै दुई स्कुले केटीलाई एसिड हानियो रे ! घाइतेलाई यही अस्पतालमा ल्याइएको छ !”
स्कुले किशोरीमाथि तेजाब आक्रमण ! उनको कान चनाखा भए । मनमा कौतूक मडारियो । स्तब्ध भए आँखा ।
उज्ज्वलका पैताला सिँढीमै रोकियो । फरक्क फर्किएर आकस्मिक कक्षतिर पुगे । भीडमा छेलिँदै घाइते नजिक पुगे ।
घर आएर साथीभाइ, इष्टमित्र, नरनाता गुहारे । हात पसारे । केही रुपैयाँको जुगाड पनि भयो । थोरै सही, मल्महमपट्टिमा सघाउ पुर्याउन थाले ।
पहिलो दिन त तेजाबले त्यति जखम तुल्याएको लागेको थिएन । दोस्रो दिनको अवस्था झन् दर्दनाक थियो । त्यो हृदय विदारक क्षणको कल्पना गर्न पनि सक्दैनन् । उनको मनभित्र आतङ्कको भुमरी उठ्छ ।
“अरू जलनको पीडा आहतबाहेकले पनि अनुभूत गर्न सक्लान् एसिडको डाह, छट्पटी पीडितले बाहेक कसैले पनि अनुभूत गर्न सक्दैनन् । ठूलो पीडा–दुखाइ प्रशवलाई मानिन्छ । तर तेजाबको जलनको पीडा मापनै गर्न कठिन हुँदो हो,” तेजाबको डाह आफैं अनुभूत गर्न खोज्छन् उज्ज्वल ।
आततायी, बर्बर आक्रमणको केही समयपछि सङ्गीता–सीमा अखबारका पङ्क्तिबाट क्रमशः ओझेल पर्दै गए । उनीहरूका घाटा बस्न नसकेका घाउमा सरकारको आँखा पर्न छाड्यो । समाजले पनि खोजीनीति गर्न छाड्यो ।
अपराधी जीवन विक पक्राउ परेर जेल चलान भएपछि सङ्गीता र सीमाको घाउप्रति देश–दुनियाँ बेखबर छ ।
तर सङ्गीता–सीमाको पीडा चहर्याउन छाडेको छैन । बरु ‘अपराधी’झैं बर्कोले अनुहार ढाकेर हिँड्न अभिशप्त छन् । शरीरको घाऊ शरीरमै दबाएर बाँच्न ‘श्रापित’ छन् । रोजीरोटीका लागि भौंतारिइरहेका छन् । मृत्युलाई नजिकैबाट अनुभूत गरेकी सङ्गीताको पीडाले उज्ज्वलाई तेजाब डाह मेटाउन प्रेरित गर्यो । कलुषित स्वार्थ पूर्ति नहुँदा तेजाबजस्तो प्राणघातक रसायन छ्यापेर जीवन खाक तुल्याउने अपराधीहरूविरुद्ध लड्न हौस्यायो पनि ।
पाँचवर्षयता तेजाबको घातक डाह कम्ता गर्ने ओखतिमूलो बनेका छन्, उज्ज्वल !
आँखैअघि अस्ताइन् सम्झना आगाको लप्काजस्तो तीव्र जलन क्षमताको एसिडमा सङ्गीता–सीमा तड्पिएको देखेर समाज दोषीविरुद्ध एकट्ठा भयो होला, सरकार पीडकप्रति आक्रामक भयो होला भन्ने उज्ज्वलले सोचेका थिए ।
तेजाबविरुद्ध देश सचेत भएकाले बिक्री–वितरण रोकिएला, छोरी–चेली तेजाबको भुङ्ग्रोमा पर्नु नपर्ला भन्ने उज्ज्वलको कल्पना थियो ।
तर एउटा अपराधले अर्को अपराध गर्न उत्प्रेरित गरेजस्तो पो भयो ! अपराधीले फितलो कानुनको फाइदा उठाउन थाले ।
तेजाब आक्रमणको समाचार उज्ज्वलको कानमा पनि पर्यो । उनी दौडँदै कीर्तिपुर अस्पताल पुगे । सम्झनाको शरीरको ३० प्रतिशत भाग जलेको थियो । जखम भएको थियो । १२ दिन मृत्युसँग सिँगौरी खेलिन् । ८ असोजका दिन हार मानिन् ।
आँखै अगाडि सम्झना अस्ताएको घटनाले उज्ज्वलको मन अमिल्लिइरहन्छ । दृष्टि धमिल्लिइरहन्छ । छातीमा पीडाको मुस्लो उठ्छ ।
“समाजले अझै तेजाबको डाह, छटपटी, आर्तनाद महसुस गर्न सकेन,” उनी मुर्मुरिन्छन् ।
विक्रम संवत् २०७५ भदौ १ देखि नयाँ फौजदारी अपराध संहिता कार्यान्वयनमा आएको थियो । त्यसपछिको घटना भएकाले तेजाब छ्याप्ने अपराधीविरुद्ध न्यायालय कठोर रूपमा प्रस्तुत होला भन्ने अपेक्षा थियो ।
सम्झनालाई तेजाबले निलिसकेको थियो । हात र घाँटीमा तेजाबले जखम बनाएको सुस्मिता पनि समाजमा फर्कन सकेकी थिइनन् । समाजको एउटा तप्काले उनलाई पनि ‘दोषी’ देख्थ्यो ।
अदालतले मर्म बुझ्ला र चाँडो मुद्दाको सुनुवाइ होला भन्ने अपेक्षा थियो ।
सम्झनाको प्राण पखेरु उडेको १३ महिना बित्दा पनि मुद्दाको किनारा लागेको छै्रन । अपराधी पुर्पक्षका लाथि थुनामा छन् ।
सम्झनाको भौतिक जीवनको अवसान र सम्झनाले जीवनभर बोकी हिँड्नुपर्ने घाउखतको पुर्ताल कसरी हुन्छ ? दीनहीन दास परिवारले केही ठम्याउन सकेको छैन ।
उनीहरूका आँसुले भिजेका झरिला दिनहरू छोरीका लागि अदालत धाउँदै व्यतीत भइरहेको छ । यत्तिकैमा कहिले फिसिक्क प्राण जान्छ र न्याय भर्सेलामा पर्छ केही टुङ्गो छैन ।
“अदालतले अनुहारको खत र घाटा बसेको घाऊ हेरर मुद्दा फैसला गर्छ । न्यायमूर्तिहरूले तेजाबको जलन खप्न नसकेर अस्पतालका शैय्याबाट निस्कने चित्कार, क्रन्दन, आर्तनादादि पनि हेर्नु र अनुभूत गर्नुपर्यो । तबमात्र तेजाब छ्याप्ने अपराधीले कसुर बमोजिमको सजाय पाउँछ,” उज्ज्वलको बोलीमा एकाएक आक्रोश मिसिन्छ ।
जीउँदै जल्न अभिशप्त जेनी राणाकाल र त्यस भन्दाअघिको चेतनाले बूढी आमा, कुप्री आमालाई जिउँदै चितामा हाल्यो । चन्द्र शमशेरले त्यो दारूण युगको अन्त्य गरे ।
त्यसपछि पनि आमा–छोरी–चेलीहरूको नियति बदलिएको छैन । चितामा जल्नु त पर्दैन तर आपराधिक प्रवृत्ति, मनोवृत्तिले उनीहरूमाथि आगो सल्काएकै छ । तेजाबजस्ता घातक रसायन हालेकै छ । कानुनी शासनको वकालत गर्ने राज्य–प्रणालीले त्यस्ता मनोवृत्तिको जरोकिलो उखेल्न सकेको छैन । तेजाबको भुङ्ग्रोमा परेर छोरीचेली मरिरहेका छन् । तर आपराधिक सोचको मृत्यु हुन सकेको छैन ।
कालोपुलकी जेनी खड्का भुजेललाई २०७६ जेठ १ गते आफ्नै श्रीमान्ले तेजाब हालिदिए । जबरजस्ती बिहे गर्न बाध्य तुल्याएकी जेनीले केही वर्ष श्रीमान्को प्रताडना सहिन् । कुटपिट सहिन् । जब उनको धैर्यको बाँध टुट्यो उनी एक्लै जीवन कटाउने निधोमा पुगिन् ।
जेनीका लागि उज्ज्वल ‘भगवान्’ सावित भए । चारचौरास हात चहारेर उज्ज्वलले सहयोगको जुगाड गरे ।
जेनी मृत्युको पोल्टाबाट त उम्किइन्, तर उनले न्याय पाउन सकेकी छैनन् । आफूमाथि अपराध भएको चार महिना व्यतीत भयो, मुद्दाको सुनुवाइ नै सुरू भएको छैन ।
“रक्स्याहा लोग्नेसँग बस्दिनँ बाहेक जेनीले केही भनेकी थिइनन् । त्यसको सजायँ तेजाब बेहोर्नुपर्यो । भाग्यवश भनौं, त्यतिबेला उनले आँखा झिम्क्याइन्, नत्र दृष्टि होइन, जीवन नै गुम्थ्यो । जेनीले जिन्दगीभर अतिशय डाह खपिरहनुपर्छ । यस्तो अक्षम्य कसुरमा पनि सुनुवाइ सुरू हुँदैन ! महिलाहरूको चाहिँ देश होइन यो ?” प्रश्न गर्छन् उज्ज्वल ।
रोहित सेट्टीकी ‘दिलवाले’की नायिका कृति सेनन र ‘स्टुडेन्ट अफ द इयर’बाट करिअर सुरू गरेका वरुण धवनसँग कसरी सम्पर्क गर्नु त ? उज्ज्वल केहीबेर असमञ्जसमा परे ।
बलिउडका चलचित्र निर्माता जुनेद मेमन उनको पुराना साथी थिए । जुनेदकै माध्यमबाट उनी कृति सेननसम्म पुगे । कृतिले मेहबुब स्टुडियोबाट मुस्कानलाई भिडियो सन्देश प्रवाह गरिन्– “म तिमीलाई माया गर्छु । आफ्नो ख्याल राख, तिमीलाई चाँडो निको हुनेछ !”
सन्देश पाएपछि मुस्कानको घायल अनुहार केही उघ्रियो । रुँदारुँदै थाकेको आकाशमा पुलुक्क घामले हेरेझैं । त्योभन्दा ज्यादा उज्ज्वलको अनुहार उज्यालियो ।
कृतिकै माध्यमबाट उनी वरुणसम्म पुगे । वरुणले पनि मुस्कानलाई सन्देश पठाए– “ म मुस्कानलाई सबै माया र प्रार्थना प्रेषित गर्न चाहन्छु । मलाई यसबारेमा थाहा दिएकोमा कृतिलाई धन्यवाद !”
उज्ज्वल बाहिरी घाऊ निको पार्न तल्लिन थिए । बलिउड कलाकारका प्रार्थनाले तेजाबको भित्री जलन निको पार्न मद्दत पुर्यायो ।
कृति र वरुणको सन्देशले मात्रै उज्ज्वलको चित्त बुझेन । बलिउडका विख्यात कलाकार अमिताभ बच्चन उज्ज्वल पढ्ने भूतपूर्व विद्यालयकै विद्यार्थी थिए, सेरहुड कलेज नैनीतालका ।
एउटै कलेजका भूतपूर्व विद्यार्थीको सम्बन्धका आधारमा अमिताभले उज्ज्वलको वचन हार्ने कुरै भएन । उनले सन्देश पठाए– “ मुस्कान ! तिमीमाथि जे भयो त्यो कसैलाई हुनुहुँदैन । तिम्रो देशको कानुनले अपराधीलाई पक्राउ गरी सजायँ दिनेछ ।”
अमिताभले उज्ज्वलको सेवाभाव र सामाजिक उत्तरदायित्वको मुक्तकण्ठले प्रशंसा पनि गरेका थिए ।
भूकम्पका बेला बलिउडका अर्का सुप्रशिद्ध कलाकार अक्षय कुमारले उज्ज्वललाई सहयोग गरेका थिए, राहत सामग्री जुटाउन । अक्षयले पनि मुस्कानलाई सन्देश पठाएर स्वास्थ्य लाभको कामना गरे । सान्त्वना प्रदान गरे ।
“के गर्दा मुस्कानको अनुहारबाट ओझेल परेको मुस्कान फिर्ता आउँछ र तेजाबको जलनविरुद्ध लड्न सक्छिन् भनेर उपायको खोजी गरिएको थियो । अर्को, मुस्कानको पीडालाई विश्वव्यापी बनाउन र यहाँको सरकारको चक्षु उघार्न पनि हाम्रो प्रयास सार्थक बन्यो,” उनी बलिउड पुग्नुको कारण बताउँछन् ।
बलिउडका कलाकारलगत्तै ‘भ्वाइस अफ नेपाल’का कोच एवम् गायक राजु लामा पनि पटकपटक कीर्तिपुर अस्पताल पुगेर मुस्कानको अनुहारमा मुस्कान ल्याउने प्रयत्न गरिरहेका छन् । अभिनेता राजेश हमाल, नेपाली क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्कालगायत विख्यात व्यक्तित्वहरू अस्पताल पुगेर सान्त्वना व्यक्त गरिरहेका छन् ।
प्रश्न सुन्नेबित्तिकै उनका आँखा विस्फारित हुन्छन् ।
“कक्षामा कहिल्यै दोस्रो हुन नजानेकी मुस्कानको शिक्षाका लागि मैले त्यति चिन्ता गर्नुपर्दैन, अस्पतालको शैय्याबाट उठून्, उनलाई चिकित्सक बन्न कसैले रोक्न सक्दैन,” यति भनेर उज्ज्वल मुस्कानको स्याहारमा जुट्छन् ।