वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दिपक थापालाई पर्सा जिल्ला अदालतले आज एक कार्यक्रम बीच सम्मान गरेको छ ।
जिल्ला न्यायाधिश धर्मराज पौडेलले प्रहरी निरीक्षक थापालाई आज प्रशंसापत्र प्रदान गरेका हुन् । अदालतमा कायम रहेको दण्ड जरीवानाको बेरुजु लगत असुल उपर गर्ने कार्यमा पुर्याएको योगदानको कदर स्वरुप प्रहरी निरीक्षक थापालाई प्रशंसापत्र प्रदान गरिएको हो ।
अदालती फैसला कार्यान्वयनमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृतलाई अदालतले वर्षेनी सम्मान गर्दै आएको छ । प्रहरी निरीक्षक थापाले अन्य प्रहरी अधिकृतले भन्दा बढी दण्ड जरीवाना असुलमा कार्यमा सहयोग पुर्याएकोले सम्मान गरिएको हो । प्रहरी निरीक्षक थापा ०७७ असोज १८ गते ईलाका प्रहरी कार्यालय पोखरीयामा कार्यालय प्रमुखको रुपमा आएका थिए ।
त्यस दिनदेखि ६० जना फरार प्रतिवादी पक्राउ परेका हुन् । उनीहरुबाट १४ वर्ष ४ महिना ३ दिन कैद तथा ५० लाख ९ हजार ९ सय २६ रुपैयाँ जरिवाना असुल भएको छ । प्रशंसापत्र प्रदान गर्दै जिल्ला न्यायधिश पौडेलले अदालतको फैसला कार्यान्वयन नहुँदा पीडितले न्याय नपाउने बताए ।
पीडित अन्यायमा परेपछि अदालतको ढोकामा आउँछन् । अदालतले प्रमाणको आधारमा कानुन बमोजिम फैसला गर्छ ।’ उनले भने ‘अदालतको फैसला कार्यान्वयन भए, जरीवाना असुल उपर भएन भने त्यो फैसला कागजमै सिमित रहन्छ ।’