झापा | सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको छ।
राष्ट्रपतिले गरेको संसद् विघटन बदर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्चको परमादेशविरुद्ध युवा संघले झापामा बिर्तामोड र दमकमा सोमबार साँझ विरोध प्रदर्शन गरेका हुन्।
एमाले ओलीनिकट राष्ट्रिय युवा संघका कार्यकर्ताले ‘चोलेन्द्र हामी चिन्दैनौं, अदालती फैसला मान्दैनौं’, ‘नेपाली जनता के भन्छ, केपी ओली ले भन्छ’लगायत नारा लगाउँदै बिर्तामोड परिक्रम गरी मुक्ति चोकमा कोणसभा गरेका थिए।
कोणसभामा युवा नेताहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीशले बहुदलीय व्यवस्था समाप्त गर्ने प्रपञ्च गरेको आरोप लगाएका थिए।
न्यायालयभित्र पूर्वाग्राही राजनीति प्रवेश गरेकोमा उनीहरूले आपत्तिसमेत जनाए। युवाहरूले ‘गलत फैसला’विरुद्ध सडक आन्दोलन चर्काउने चेतावनी पनि दिए।
युवा संघका नेता पर्वतराज भण्डारीले न्यायालयको गलत गतिविधिविरुद्ध युवा एक ठाउँ रहेका भन्दै मुलुकको व्यवस्थामाथि मनपरी गरिएको फैसला नमान्ने बताए।
सर्वोच्चका प्रधानन्यायाधीशले चोलेन्द्र शमशेर राणाले सोमबार संसद् विघटन बदर गर्नुका साथै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई २८ घण्टाभित्र नियुक्त गर्न परमादेशको फैसला सुनाएका थिए।