वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला र परमादेशले संसदीय व्यवस्थाको मान्यतामाथि गम्भीर प्रहार भएको बताएका छन् । अध्यक्ष थापाले अदालतको यो फैसलाले नेपालको राजनीतिमा दूरगामी नकारात्मक प्रभाव पार्ने बताए ।
उनले भने, ‘आजको फैसलाले केपी ओलीको ज्यादतीबाट पीडितहरुका लागि तत्कालका निम्ति केही राहत मिलेको होला । प्रधानमन्त्री वा मन्त्री हुनेहरूलाई केही सुविधा वा लाभ पनि प्राप्त होला । तर यो फैसलाले नेपालको राजनीतिमा दूरगामी नकारात्मक असर रहने निश्चित छ ।’
अदालतको फैसलापछि आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष थापाले संविधानको धारा ७६ (५) को प्रयोग गर्दा सांसदहरुमाथि दलको नियन्त्रण नरहने भन्ने निर्णय अत्यन्तै घातक रहेको र यसले भविष्यमा दलहरूको अस्तित्व नै धरापमा पार्न सक्ने दाबी गरेका छन् ।
उनले भनेका छन् : ‘सांसदहरु स्वतन्त्र र दलविहीन हुन पाउने भएपछि पार्टीको एकता र अनुशासन कसरी कायम गर्ने ? एउटा पार्टीको अध्यक्ष भएको नाताले म आफैं पनि अत्यन्त चिन्तित छु ।’ उनले ठाडो आदेशबाट प्रधानमन्त्री नियुक्त गर्न निर्देशन दिनुले गलत नजिर र परम्परा कायम हुन गएको दाबी गरेका छन् ।