रौतहट । भारतको बिहारस्थित सीतामढीमा नेपाल र भारतको दुई पक्षीय सुरक्षा सम्बन्धी बैठक सम्पन्न भएको छ ।रौतहट जिल्लाका सुरक्षा अधिकारी र भारत सीतामढी जिल्लाका सुरक्षा अधिकारी सम्मिलित बैठक शनिबार सम्पन्न भएको हो ।द्विपक्षीय सुरक्षा सम्वद्ध बैठकमा विविध मुद्दाहरुको बारेमा आपसी समन्वय अभिवृद्धि गर्ने समझदारी भएको बताइन्छ ।सीमा पार गरी अपराधीहरु लुक्ने गरेकोमा त्यस्ता अपराधीलाई पक्राउ गर्न आपसी सहयोग आदानप्रदान, अवैध ओसार पसार नियन्त्रण तथा मदिरा नियन्त्रणबारे सहमति भएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।
त्यसैगरी बाढी व्यवस्थापन, गौर–४ स्थित टिकुलिया बाँध (लाल बकैयाको पूर्वी) दशगजा क्षेत्रमा मर्मत गर्न सहयोग गरेकोमा नेपाली सुरक्षा अधिकारीले समकक्षीलाई धन्यवाद दिएका थिए ।भारतीय बाँधमा रहेको सुलिस गेट पानीको प्राकृतिक बहावको लागि आवश्यकता अनुसार परिचालन गर्ने, गौर नाकाबाट आवागमन व्यवस्थापनमा आवश्यक सहजीकरण गर्ने सम्बन्धमा पनि बैठकमा सहमति भएको छ ।आवश्यकता अनुसार द्विपक्षीय रुपमा निरन्तर सम्पर्कमा रहने सहमतिसमेत भएको अधिकारीहरुले जनाएका छन् ।
दुईपक्षीय बैठकमा रौतहटबाट प्रमुख जिल्ला अधिकारी यादवका अतिरिक्त एसपी सिद्धीविक्रम शाह, सशस्त्रका एसपी सुरजसेन ओली, राष्ट्रिय अनुसन्धानका एसपी मुकुन्द खड्का र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।
त्यसैगरी भारतीय सुरक्षा अधिकारीमा सीतामढी डिस्ट्रिक मजिस्टेड सुनिल कुमार यादव, एसपी हरकिशोर राई लगायत पुलिस उपाधिक्षकहरु, पुलिस अञ्चल निरीक्षकहरु र थानाध्यक्षहरुको सहभागिता रहेको बताइएको छ ।