वीरगन्ज । जनक शिक्षा सामग्री केन्द्रले नै नेपालको पुरानै नक्सा प्रकाशन गरेको पुस्तक बिक्रीवितरण गरेको पाइएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक खरिद गरेका अभिभावकले विद्यालयको पाठ्यपुस्तक भित्र नेपालको पुरानै नक्सा फेला पारेका हुन् ।विद्यालय तहको कक्षा ५ को सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषय र कक्षा ९ को सामाजिक अध्ययन विषयको पुस्तकमा लिम्पियाधुरा, लिपुलेक बिनाको पुरानै नक्सा प्रकाशन गरेको भेटिएको छ ।कक्षा ९ को सामाजिक अध्ययन विषयको नक्सा कार्य शीर्षक रहेको पाठ ७ मा नेपालको पुरानै नक्सा प्रकाशन भएको छ । यस्तै कक्षा ५ को पाठ ६ मा नक्सामा संकेतहरु भरौँ पाठमा पुरानै नक्सा प्रकाशन भएको छ ।किताबको पहिलेको मूल्य छोपेर केही बढाएर नयाँ मूल्य समेत राखिएको एक अभिभावकले जानकारी दिए ।
पाठ्यक्रम विकास केन्द्र भन्छ : स्टक होला, फिर्ता हुन्छ
पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले बजारमा पुरानै स्टकको किताब गएको हुन सक्ने दावी गर्दै त्यस्ता पुस्तक फिर्ता हुने उल्लेख गरे ।रातोपाटीसँग कुरा गर्दै भट्टराईले भने, ‘पाठ्यपुस्तकमा नयाँ नक्सा प्रकाशन गर्ने पोहोर निर्णय भएको हो । त्यो निर्णयअघि नै छापिएका पुस्तक रहेछन् भने त्यसलाई सच्याउने प्रक्रिया चलिरहेको छ । अहिले कहीँ बजारमा त्यस्तो भेटिएको हुन सक्छ ।’गत महिनामात्रै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बजारमा पुराना नक्सा प्रकाशन भएको किताब विक्री वितरण गर्नेलाई कारवाही गर्ने बताएका थिए भने त्यस्ता किताब फिर्ता ल्याउन समेत निर्देशन दिएका थिए । यस्तै अघिल्लो वर्ष पाठ्यक्रम विकास केन्द्रले नै नेपालको नयाँ नक्सा सहित छापेको शिक्षक सहयोगी पुस्तक वितरण गर्न सरकारले नै रोक लगाइएको थियो ।
तर अहिले बजारमा भेटिएका पुरानै नक्सा भएका किताब गत बर्ष अगाडि नै प्रकाशन भएर देशभरीका बजारमा पुगेको हुनसक्ने दावी निर्देशक भट्टराईले दोहोर्याए । उनले भने, ‘बजारमा देशभरी नै किताब पुगेको हुन्छ । पोहोर निर्णय भएपनि त्यतिबेला पनि सूचना थाहा थिएन । नयाँ किताबमा त हामीले सच्याएका छौँ । त्यसभन्दा अगाडि छापिएका किताबहरु, स्टकका किताबहरुमा त्यस्तो रहन सक्छ । पहिले नै छापिएका किताबहरुमा नयाँ चित्र टाँसिदिने, त्यस्ता किताब बजारमा रहेछन् भने नयाँ दिएर फिर्ता ल्याउने भन्ने कुरा भएको छ ।’
बजारमा पुरानो नक्सा भएको किताब पुगेको छ भने जनक शिक्षा सामग्री केन्द्रले फिर्ता लिने निर्देशक भट्टराईले जानकारी दिए ।अघिल्लो बर्ष जेठमा प्रतिनिधि सभाले भारतले अतिक्रमण गरेको नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा प्रकाशन गर्ने सर्वसम्मत निर्णय गरेको थियो । त्यसयता नेपालको नक्सा प्रयोग हुने हरेक विषय क्षेत्रमा नयाँ नक्सा प्रयोग गर्न थालिएको थियो ।