वीरगञ्ज । प्रदेश २ को मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालत जनकपुरमा रिट दर्ता भएको छ।अधिवक्ता राज कुमार महासेठले प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत ६ जनाविरुद्ध सोमबार रिट दर्ता गराएका हुन्।मुख्यमन्त्री राउतले जेठ २६ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा रामसरोज यादव, खानेपानी तथा उर्जा विकास मन्त्रीमा ओम प्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीमा विरेन्द्र सिंहलाई नियुक्त गर्दा समावेशी नभएको भन्दै अधिवक्ता महासेठले रिट दर्ता गरेका हुन्।
मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख राजेश झाले जेठ २६ गते मन्त्रिमण्डल विस्तार गरेकोमा त्यसलाई उत्प्रेषणको आदेशबाट बदर गर्न रिटमा माग गरिएको छ।
रिट निवेदनको अन्तिम कारवाही नभएसम्मको लागि हालै नियुक्त भएका मन्त्री यादव, शर्मा र सिंहलाई मन्त्रीको हैसियतमा कुनै किसिमको काम नगर्नु–नगराउनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम तत्कालै अन्तरिम आदेश जारी गरी पाउँ भनि अधिवक्ता महासेठले माग गरेका छन्।