बिरगंज। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले दलको विवरण परिवर्तन गरेको प्रति अर्का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् । जसपा नेपाल उपेन्द्र यादव पक्षका प्रचार विभाग प्रमुखले डम्बर खतिवडाले शनिवार एक विज्ञप्ति जारी गरी अध्यक्ष ठाकुरले जालजासी काम गरेको आरोप लगाएका हुन् ।
अध्यक्ष ठाकुरले असार १ गते जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति हेरफेर तथा पुनर्गठन भएको जानकारी आयोगलाई गराएका थिए । अध्यक्ष ठाकुरले उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्ष २० जना थपेका छन् । जसपाको कार्यकारिणी समितिमा आफ्नो बहुमत नभएपछि अध्यक्ष ठाकुरले २० जनालाई हटाएर आफ्ना पक्षका २० जना थपेका हुन् ।