बीरगन्ज। आफू अगाडिको ऐनातिर मात्रै फर्कने केपी ओलीको मुन्टो कसोकसो यो पालि जेठ २ मा फर्कन्छु भनेर हल्लियो । अब मुन्टो हल्लाउने पालो थियो झलनाथ खनाल र माधवकुमार नेपालको । तर उनीहरुको सधैं हल्लिने मुन्टो बूढानीलकण्ठ र खुमलटारमा पुगेर सोझो भइसकेको थियो । त्यसैले, उनीहरुले बालुवाटारतिर आँखा फर्काएनन्, मुन्टो लर्काएनन्, बरु पिठ्यूँ फर्काइदिए । सधै बाँसको लौरो जस्तो सोझो ओलीको मुन्टो बल्लतल्ल फर्कन खोज्यो, तर सधैं हल्लिरहने नेपाल र खनालको मुन्टो चाहिँ उताको उतै भयो । यो देखेपछि जेठ २ मा फर्कन पाइएला भनेर आकासमा कावा खाइरहेको एमाले कार्यकर्ताको आश प्वाँख झरेको चीलझै फत्रक्क भुइँमा झर्यो र कक्रक्क परेर मर्यो।
जेठ २ मा मात्रै फर्कन पाएको भए देशमा के मात्रै हुँदैन थियो ? एकपटक तपाईं आफूलाई जेठ २ मा फर्काएर हेर्नुस् त । २०७५ को जेठ २ अर्थात आजभन्दा ठ्याक्कै तीन वर्षअघिको समय र जिन्दगी । न कोरोनाको डर, न निराशाको घर । देशले काँचुली फेर्ला भन्ने रहर, आश्वासनको पोको बाँड्दै सिंहदरबार छिरेका ओलीको भर । न टिपनटापन पारेर थुपारिएका मन्त्रीको ताँती, न सरकारी टीभीमा रमिता भाँतीभाँती । ओलीले केही गर्लान् भन्ने आस, मनमा सुख र समृद्धिको बास ।
तीन वर्षअघिको जेठ २ । भर्खरभर्खर बनेको ओली नेतृत्वको सरकार । सुखी नेपाली, समृद्ध नेपालको नारा लिएर एक हुन लागेका एमाले र माओवादी । मिलेर चुनाव लडेका उनीहरुका जुरुकजुरुक बनाउने भाषण र फुरुकफुरुक पार्ने घोषणापत्र । भारत र चीनबाट अहिले नै रेल आउलाजस्तो । गण्डकी र कोशीबाट छिरेको पानीजहाज घर छेउकै खोलासम्म आउलाजस्तो । काम र दाम भएन भनेर झोक्राएर बस्नुपर्ने दिनको अन्त्य भइसकेको जस्तो । जता फर्क्याे, उतै सुख । जता हेर्यो उतै विकास । दुःखपीर, चिन्ता, बेथीति, भ्रष्टाचार, अनियमितता के हो भनेर इतिहासमा खोज्नुपर्ला जस्तो लाग्ने ती घमाइला दिन ।
एक/दुई जना वरिष्ठ नेताका छोरी, ज्वाइँ, सालासालीसम्म प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य भएको देख्नुबाहेक श्रीमान श्रीमती आलोपालो मन्त्री हुन्छन् भन्ने कल्पना समेत गर्न नपर्ने । दर्जनौँपटक मन्त्रिपरिषद् हेरफेर गरेर ओलीले आफ्नै अनुहार केरमेट गरेको देख्नै नपर्ने । ओली आएर पो के भयो र भनेर पछुतो मान्नुको सट्टा ओली आए अब केही हुन्छ भनेर सम्झँदै गदगद हुन पाइने ।
तीन वर्ष अघिको ती दिन सम्झँदा त्यसैत्यसै उफ्रौँ उफ्रौँ लाग्ने । घरको छानामाथि चढेर उडौँउडौँ लाग्ने । हामीलाई मात्र हो र, प्रचण्ड, नेपाल र खनालका लागि पनि ती दिन कति सुनौला थिए । मिर्गौला नफेरेका बिरामी ओली । मिर्गौला फेरेर यस धरतीमा फिर्छन् भनेर कसरी कल्पना गर्ने ? जुँगा काला पार्लान् भन्ने, मिर्गौलासँगै बातैपिच्छे बोली पनि फेर्छन् भन्ने त दाहाल र नेपालले सपना पनि देखेका थिएनन् । एमाले र माओवादी मिलेर बनेको जम्बोजेट जत्रो पार्टीलाई कसले हल्लाउन सक्ने ? बिरामी ओलीलाई अहिले क्याप्टेनको सिटमा राख्न पाए अलि दिनपछि पालैपालो आफैँ त्यहाँ बस्न पाइने । ठूलो पार्टीको नेतृत्व गरेर हालीमुहाली गर्न पाइने । मिर्गौला नफेर्दासम्म ओली के हो के हो, त्यसपछि मै हो भनेर मुख मिठ्याएर बस्न पाइने । कम्ता रमाइला थिएनन् प्रचण्ड, नेपाल र खनालहरुका लागि ती दिन ।
केन्द्रदेखि प्रदेशसम्म यस्तो गाईजात्रा हुन्छ भनेर त्योबेला कसले सोचेको थियो ? कांग्रेस अब सकियो भनेर भाषण गर्नेहरुले कांग्रेसकै मान्छेलाई प्रधानमन्त्रीको लागि बिन्ती गर्ने दिन आउँछ भन्ने कसलाई लागेको थियो ? बहुमत ल्याउन नसक्ने दल प्रतिपक्षको कुर्सी छोडेर बुरुक्क उफ्रँदै मन्त्रीको कुर्सीमा बस्न पुग्छ भन्ने कल्पना कसले गरेको थियो ? नेताहरुले संविधानका पाना र कानुनका कागजलाई मकैको खोस्टोजस्तो बनाउँछन् भन्ने कसले सोचेको थियो ? तीन वर्षअघिको जेठ २ मा यस्तो सोच्न पनि सकिँदैनथियो । ती दिनमा जता हेरे पनि सुध्रिएका नेता, स्थिर सरकार, सुशासन र विकास मात्र देखिन्थ्यो ।
नेता र राजनीतिका के कुरा, कोरोनासमेत जन्मिएको थिएन उतिबेला । अहिलेजस्तो घरभित्र कोचिएर र निसासिएर बस्न पर्दैन थियो । ओलीले देश बिगारे, प्रचण्ड–नेपालहरुले भाउ खोजे, प्रदेश सरकार आफैँ मासिने बाटोमा गए भनेर पुर्पुरोमा हात लगाएर बस्नु पर्दैन थियो ।
तीन वर्षअघि जन्मिएका बच्चालाई आमाको पेटभित्रै पठाउने कि उमेर घटाउने भन्ने एउटा र तीन वर्षदेखि वृद्धभत्ता पाइरहेकाको भत्ता के गर्ने भन्ने अर्को बाहेक जेठ २ मा फर्कँदा अरु घाटा छ त ? फाइदा नै फाइदा मात्र छ । लौन एकपटक सबै मिलेर जेठ २ मा फर्कने बल गरौँ ।