वीरगन्ज । कोरोना संक्रमित बढ्दै गएपछि सर्लाहीमा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरिएको छ। मंगलबार जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र सर्लाहीको बैठकले जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा बढाएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए।
कोरोना संक्रमण बढ्दै गएकोले जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै मंगलबार राति १२ बजेदेखि जेठ ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा बढाइएको प्रजिअ तामाङले जानकारी दिए।सर्लाहीमा वैशाख २५ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाइएको छ।निषेधाज्ञा अवधिमा एम्बुलेन्स, शव वाहन, खाद्य सामग्री, औषधी, कुखुराका चल्ला, पशुपंक्षीको दाना, पानी, दुध, इन्धन, फलफूल तथा तरकारी बोकेका सवारीसाधनहरुलाई चलाउनमा रोक लगाइएको छैन। प्रशासनले सार्वजनिक यातायात तथा निजी यातायात चलाउनमा रोक लगाएको छ।
स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइने प्रजिअ तामाङले बताए। खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ।त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन गरिनेछ।सर्लाहीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८२ पुगेको छ भने ७३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।