वीरगन्ज । एमालेका उपाध्यक्ष रहेका बामदेव गौतमले मंगलबार २०७५ साल जेठ २ गतेको पदाधिकारी र स्थायी समिति बैठक बोलाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेका छन्।
उनले प्रधानमन्त्री ओलीले जारी गरेको एकतासम्बन्धी विज्ञप्तिमा जेठ ३ गतेपूर्वको अवस्थामा पार्टीलाई लैजानी भनी उल्लेख भएको विषयलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै पछिल्ला घटनाक्रमले अन्तर पार्टी संघर्ष पेचिलो देखिएको एक विज्ञप्तिमार्फत बताएका छन्।
उनले एकताको पक्षमा उभिएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको पनि उल्लेख गरेका छन्। उनले जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्वीकार पनि गर्न सकिन्छ भन्ने भएको जसलाई इमान्दार एकताको प्रयत्न मान्न नसकिने उल्लेख गरेका छन्।
उनले २०७५ साल जेठ २ गते कायम रहेको दुई वरिष्ठ नेता, एक उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहित स्थायी समिति बैठक बोलाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका हुन्।