वीरगन्ज । प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रबार बिस्तार गरेको मन्त्रिपरिषदमा एमाले नेता शेरबहादुर तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेको केपी ओली समूहमा लाग्दा शेरबहादुर तामाङको जोडी भाग्यमानी सावित भएको छ । उनकी पत्नी उषाकला राईले गत चैत १३ गते प्रदेश १ को सामाजिक मन्त्रीमा नियुक्त पाएकी थिइन् । तत्कालीन नेकपा फुटपछि माधव नेपाल खेमामा रहेका नेता दम्पती तामाङ र राई पछि ओली समूहमा गएका थिए । केही दिन ओली समूहमा बसेर फेरी नेपाल समूहमा फर्किएका उनीहरु पछि फेरी ओली समूहमै फर्किएका थिए ।
गत पुस ९ गते अघि तत्कालीन नेकपाको ओली समूहको बैठकमा सहभागी भएका उनीहरु पुस ९ गते प्रचण्ड नेपाल पक्षको केन्द्रीय समितिको बैठकमा सहभागी भएका थिए । उषाकला राईले प्रधानमन्त्री के पी ओलीले आफूलाई केन्द्रीय सदस्य बनाएकोमा धन्यवाद दिँदै सो पद अस्वीकार गर्दै ओली समूहमा आफू नरहेको बताएकी थिइन् ।
तर गत फागुन ८ गते उनीहरु फेरी ओली समूहमै फर्किएका थिए । गुट परिवर्तन गरेसँगै राईले प्रदेश १ को मन्त्री हात पारिन भने तामाङले बैशाख १० गते एमालेको कार्यालय सचिवको जिम्मेवारी पाए । ओली सरकारको पहिलो मन्त्रीमण्डलमा तामाङले ४ महिना कानून मन्त्रालय चलाएका थिए । विवादास्पद अभिव्यक्ति दिएका कारण उनले राजीनामा दिनुपरेको थियो ।