सप्तरी । सप्तरीमा गत वर्षको तुलनामा कोरोना संक्रमितको संख्या अहिलेसम्म कम रहे पनि मृत्यु हुनेहरुको संख्या भने दोब्बर भन्दा बढी रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार गत वर्ष जिल्लामा कोरोना संक्रमितहरुको संख्या एक हजार आठ सय ३३ र मृतक संख्या ४१ थियो । तर, दोस्रो लहरका क्रममा मंगलबारसम्म मृतकको संख्या ८७ पुगिसकेको छ ।
यस पटक मंगलबार सम्म कोरोना संक्रमित एक हजार सात सय ७५ पुगेको कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । उनका अनुसार हाल जिल्लामा रहेका सक्रिय संक्रमितहरुको संख्या नौ सय ८३ रहेको छ । संक्रमणको दोस्रो लहरका सुरुवाती चरणमा अत्यधिक संक्रमित आउने गरेका भए पनि केही दिन यता यसमा कमी आएको छ । संक्रमितहरुका लागि तयार गरिएका नौ आईसोलेशन मध्ये ११ बेडको रायपुर स्थित युनिक अस्पताल तथा हनुमाननगर कंकालिनी नगरपालिका स्थित भारदह अस्पताल भने संक्रमण घट्न थालेपछि अहिले खाली अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।
संक्रमित तथा मृतक संख्या घट्न थाले पनि जोखिम चाहिँ कायमै रहेको उनको कथन छ । यादवका अनुसार जिल्लागत तथ्यांकका आधारमा संक्रमित कम देखिए पनि खडक नगरपालिकालगायत केही स्थानीय तहमा चाहिँ संक्रमितहरुको संख्या बृध्दिकै क्रममा रहेको छ । उनले निषेधाज्ञाको पालना तथा स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्न सबैमा आग्रह समेत गरेका छन् ।