वीरगन्ज । नेकपा एमाले विभाजित अवस्थामा हुँदा नेता बामदेव गौतम अझै तटस्थ छन् । उनले कुनै पक्षमा रहेको स्पष्ट पारेका छैनन् ।गौतमको नाम आज अध्यक्ष केपी शर्मा ओलीविरुद्ध माधव नेपाल समूहले निकालेको वक्तव्यमा पनि छैन । एमालेको नवौं महाधिवेशनबाट चयन भएका स्थायी कमिटी सदस्यहरु १५ जनाको नाम वक्तव्यमा रहेपनि गौतमको छैन ।
गौतममाथि ओलीले कारबाही समेत गरेका छैनन् । उनीमाथि कारबाही प्रक्रिया बढाइएको पनि छैन । गौतमले अझै एकता अभियान चलाइरहेका छन् ।गौतमको मौनतालाई अर्थपूर्ण मानिएको छ । तर, उनी माधव नेपालसँग नियमित सम्पर्कमा रहेको बुझिएको छ ।
विश्वस्त स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशले प्रतिनिधि सभा पुनःस्थापना हुनेमा गौतम ढुक्क छन् । उनले अदालतको फैसला आएपछि मात्र कदम चाल्ने तयारी गरेको बुझिएको छ । त्यस अगाडि उनको कुनै कडा कदम नदेखिने बुझिएको छ ।
गौतमले २८ फागुन २०७७ को ओलीको निर्णय फिर्ता लिई एमालेलाई फुटबाट जोगाउन प्रयास गरेका थिए । तर, सफल हुन सकेनन् ।अब गौतम कता लाग्ने हुन् चासोको विषय बनेको छ । नवौं महाधिवेशनमा गौतमले ओलीलाई अध्यक्षमा जिताउन मुख्य भूमिका खेलेका थिए । तर, पछि ओलीले पेलेको उनको बुझाई रहेको छ ।