वीरगंज | मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छिन । राष्ट्रपति कार्यालयले शुक्रवार मध्यरातमा विज्ञप्ति प्रकाशित गरी मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधि सभा विघटन गरिएको जानकारी गराएको हो । शनिबार राति १ बजे बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो ।
यसअघि सरकारले २०७७ पौष ५ गतेपनि प्रतिनिधि सभा विघटनको सिफारिश गरेको थियो । लगत्तै राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपनि प्रक्रिया नपुगेको भन्दै सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना गरिदिएको थियो । पुस ५ मा प्रतिनिधि सभा विघटन भएको ५ महिना पछि सरकारले पुनः प्रतिनिधि सभा विघटनको सिफारिश गरेको हो । यसअघि शुक्रवार दिउसो बालुवाटारमा सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको संकेत गरेका थिए ।