वीरगंज। प्रधानमन्त्री केपी शर्मा ओलीले राति एउटा, दिउँसो अर्कै कुरा गर्न थालेका छन् । उनीमाथि प्रश्न उठेको छ– जनताले प्रधानमन्त्रीको कुनचाहिँ कुरो पत्याउने ? रातिको कि दिउँसोको ?प्रधानमन्त्री ओलीले कतिसम्म झेली कुरो गरेका छन् भने शुक्रबार शीतलनिवासमा १५३ सांसदसहितको दाबी पेश गरिएको भनिएकोमा त्यसभित्र आफ्ना घोर आलोचक डा. बाबुरामलाई पनि समावेश गरिएको छ । अर्थात् डा. बाबुराम भट्टराई र उपेन्द्र यादवकोे समेत समर्थन आफूलाई रहेको ओलीको दाबी छ ।
बहुमत पाउन सकिएन भन्दै ह्याण्डस अप !
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बिहीबार साँझ ‘आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाउने दह्रो आधार नदेखिएको’ र ‘बैशाख २७ कै अवस्था विद्यमान रहेको’ भन्दै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष ‘सिफारिस’ गरे ।
आफूले बहुमत प्राप्त गर्न नसकेकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको ओलीको तर्क छ ।
शुक्रबार बिहानसम्म पनि ओली आफ्नो हैसियत बैशाख २७ को भन्दा फरक नभएकाले विश्वासको मत नलिई सीधै संविधानको धारा ५ जान बाध्य भएको बताइरहेका थिए । दिउँसो बालुवाटारमा सम्पादकहरूसँग प्रस्तुत भएका ओलीले त्यहाँ पनि आफूसँग बहुमत नरहेकाले ‘ह्याण्ड्स अप’ गरेको बताए ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भन्दै हात उठाएपछि राष्ट्रपतिले त्यही आधारमा टेकेर विहीबार राति संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बन्ने आधार पेश गर्न आह्वान गरिन् । ओलीसँग बहुमत भएको भए उनी विश्वासको मत लिनतिर लाग्ने थिए, यसरी हात उठाएर ‘ह्याण्ड्स अप’ भन्ने नै थिएनन् ।
ओलीले विहीबार बहुमत जुटाउन सकिएन भनेकै आधारमा उनको विकल्पमा विपक्षी गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई अघि सार्दै शुक्रबार राष्ट्रपतिसमक्ष १४९ जना सांसदको हस्ताक्षरसहित आधार पेश गरेको हो ।
कुदेर फेरि शीतलनिवास !
अचम्म त के छ भने, अघिल्लो दिन बहुमत छैन भनेका प्रधानमन्त्री ओली शुक्रबार शेरबहादुर देउवा बहुमत सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुग्नुभन्दा अघि नै आफूसित १५३ सांसदको बहुमत छ भन्दै आफैं शीतलनिवास पुगिसकेका थिए ।
अघिल्लो साँझमात्रै आफूसँग बहुमत पुर्याउन सक्ने अवस्था नरहेको बताएका ओलीले भोलिपल्टै पुनः बहुमत सांसद आफूसँगै छन् भनेका छन् ।
आखिर ओलीको कुन चाहिँ कुरो पत्याउने ? विहीबार रातिको या शुक्रबार दिउँसोको ?
हस्ताक्षरबिनै बहुमतको दाबी
प्रधानमन्त्री ओलीले आफूसँग १५३ सांसद रहेको भन्दै शीतलनिवासमा दाबी पेश गरेको बताइए पनि त्यो दाबी नै हावादारी रहेको पाइएको छ । ओलीले १५३ जना सांसदहरुको हस्ताक्षर शीतल निवासमा बुझाएका छैनन् । उनले जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादवसमेत आफ्नो पक्षमा रहेको तर्क गर्दै पत्र बुझाएका छन् ।
बहुमतको भरपर्दो आधारै पेश नगरी पार्टीको तर्फबाट पत्रमात्रै दर्ता गरेर ओलीले दाबी गरेको शीतलनिवासका एक कर्मचारीले रातोपाटीलाई बताए ।
स्वयं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि ट्विटमा यो कुरा स्वीकार गरेका छन् । रिमालले पत्रका आधारमा दाबी गरिएको उल्लेख गर्दै भनेका छन्, ‘नेकपा (एमाले) का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दाबी गर्नुभएको छ ।’
सबैलाई थाहा भएकै कुरा हो, जसपाका ३२ सांसद भनेका बाबुराम भट्टराई र उपेन्द्र यादवसमेत हुन् । विष्णु रिमालको भनाइलाई आधार मान्ने हो भने ओलीले डा. भट्टराई र यादवलाई पनि आफ्नै पक्षका सांसदका रुपमा प्रस्तुत गरेका छन्, जुन जालसाजीपूर्ण र हास्यास्पद देखिन्छ ।
शीतलनिवासमा दर्ता भएको भनिएको प्रधानमन्त्री ओलीको पत्रमा पत्रमा १५३ सांसदको हस्ताक्षर छैन । प्रधानमन्त्रीका सल्लाहकार रिमाल लेख्छन्, ‘दाबी पत्रमा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ ।’
एमालेका माधव पक्षका २७ र जसपाका १६ सांसदले संसदमा ओलीलाई मत नदिएको सबैलाई थाहा भएको कुरो हो । अहिले उनीहरुले देउवाको पक्षमा हस्ताक्षर गरिसकेको देख्दादेख्दै ओेलीले तिनै विपक्षी सांसदहरुलाई समेत देखाएर प्रधानमन्त्रीमा दाबी गर्नुले उनको नैतिकतामाथि पनि प्रश्न उठेको छ ।