बीरगन्ज, २१ बैशाख- बीरगन्ज महानगरपालिका वडा नं. १६ का एक २६ वर्षीय युवकको पनि कोरोना संक्रमण कारण ज्यान गएको छ ।
बीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ती युवकको मंगलबार बिहान साढे ११ बजे मृत्यु भएको नारायणी अस्पतालमा कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । चिकित्सकका अनुसार उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।
स्वास्थ्यमा समस्या आएपछि बैशाख १६ गते अस्पताल भर्ना भएका युवकको सोही दिन एन्टीजेन प्रविधिबाट कोभिड परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
उनमा गम्भीर किसिमको निमोनिया देखिएको डा. दासले जानकारी दिए । निमोनियाका कारण उनको दुवै फोक्सोमा समस्या भएपछि श्वासप्रश्वासमा अफ्ठ्यारोको कारण उनको मृत्यु भएको डा. दासले बताए ।
डा. दास अनुसार उनको अस्पतालस्थित अईसियू वार्डमा विगत ३ दिनदेखि भेन्टिलेटर सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको थियो ।