वीरगन्ज । कृषणा गुप्ता । चलचित्र ‘लाल मोहन जी’ निर्माणको घोषणा भएको छ । यो चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । आर.रोसफी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् ।
विपिन कार्की,रोहित रुम्बा,कर्मा शाक्य,अर्पण थापा, रविन्द्र झा, सुष्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार ,कृष्ण कुमार महतो र सुस्मिता मुडभरीको मुख्य भूमिका रहने फिल्मका लागि एक हेरोइन भने चयन हुन बाँकी छ ।
प्रवेश पौडेलको कथामा पटकथा सम्वाद आकाश बरालले तयार पारेको फिल्ममा सन्तोष राज साहनीको संगीत, निरज कँडेलको छायाँकन, राजु तामाङको द्वन्द्व, कविराज गहतराजको नृत्य रहनेछ । फिल्मलाई अर्जुन जिसीले सम्पादन गर्नेछन् ।
नेपालको झापाको भद्रपुर, भारत, क्यानडा र अष्ट्रेलियामा छायाँकन हुने बताइएको फिल्म जेठको पहिलो साताबाट फ्लोरमा निस्कने तयारीमा छ । सस्पेन्स कमेडी कथामा बन्न लागेको फिल्मको कथा राम्रो भएको निर्देशक बस्नेतले दाबी गरे । ‘फिल्मको कथाका लागि दुई वर्ष होमवर्क गरेका छौ ।
यसको कथा अहिलेसम्मकै उत्कृष्ट हो भन्ने मलाई लाग्छ’ बस्नेतले भने ‘कथा राम्रो भएकोले पनि विपिनलगायत कलाकारले मन पराएका छन् ।’ आफ्नो टिमको सबै कलाकारलाई समेत फिल्मको कथा राम्रो लागेको बस्नेतले सुनाए । फिल्म तिहारमा रिलिज लक्ष्य लिइएको फिल्मको प्रोडक्सन म्यानेजर दिलिप पन्त रहेका छन् ।