हेटौंडा । घुम्न आएका पर्यटकलाई मनलाग्दी ठग्ने हेटौंडाको शहिद स्मारक भित्र रहेको एक पसल प्रशासनको फन्दामा परेको छ ।हेटौंडा उपमहानगरपालिका–११ मा पर्ने शहिद स्मारक मकवानपुर आसपासका जिल्ला र बिशेषगरी तराईका जिल्लाको प्रमुख पर्यटकीयस्थल हो । तर यहाँ संचालित पसलहरुले उपभोक्तालाई मनलाग्दी ठगिरहेका छन् ।
आउने पर्यटकलाई बजार मूल्य भन्दा निकै महँगो मूल्य लिई विभिन्न सामान बेच्ने साना होटल तथा पसल मध्य एउटा पसल बुधबार मकवानपुर प्रशासनको फन्दामा परेको हो । शहिद स्मारक परिसर भित्रको शहिद स्मारक कोल्ड एण्ड किराना पसललाई बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले शिल गरेको छ ।
एक जार पानीको एक सय रुपैंया लिने गरेको प्रमाण फेलापारी उक्त किराना पसल प्रशासनले शिल गरेको हो । सामानको बढी मूल्य लिएर उपभोक्ता ठगि गरिरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रसाशन कार्यालय मकवानपुर र उपभोक्ता हित सम्रक्षण मंच मकवानपुरको आकस्मिक अनुगमन टोलीले पसल शिल गरेको हो ।
साथै उक्त पसलबाट हाम्रो स्पेसल दहि नामको लेबल नभएको दही लगायतका खाद्यान्न सामाग्री बरामद गरिएको छ ।यो पसल त एक उदाहरण मात्र हो । शहिद स्मारक वरपर रहेका सबै पसलहरुले बजार मूल्य भन्दा निकै बढी मूल्य लिई उपभोक्ता ठग्ने गरेका छन् । गुणस्तरहीन खाध्य सामाग्री बिक्रि वितरण गर्ने गरेको पर्यटकहरुले गुनासो गर्ने गरेका छन् । यसतर्फ शहिद स्मारक विकास समिति र प्रशासनको ध्यान जानु जरुरी छ ।