वीरगंज | निद्रा परेन भनेर सुत्नका लागि औषधिको सहारा लिने थुप्रै छन् । कोही डाक्टरको सल्लाहमा त कोही सल्लाहविनै यस्ता औषधिको प्रयोग गरिरहेका छन् ।
यी औषधिले केही समयका लागि राम्रो काम गरेजस्तो अनुभव मिल्छ । औषधि खाएपछि सजिलै निदाउन सकिने हुँदा बढी ‘स्ट्रेस’मा रहने मानिसहरू डाक्टरको सल्लाहविनै औषधि सेवन गर्न थाल्छन् । तर, यस्ता औषधिको सेवन गर्ने बानी स्वास्थ्यका लागि घातक हुन सक्छ ।
यस्ता छन् निद्रा लाग्ने औषधिको सेवनबाट स्वास्थ्यमा पर्न सक्ने खतराहरू :
१. गर्भावस्थाका शिशुलाई हानिकारक
गर्भवती महिलाले निद्रा लाग्ने औषधिको प्रयोग गर्भमा रहेकाे बच्चाका लागि हानिकारक हुन्छ ।
धेरैजसाे अवस्थामा चिन्ताका कारण निद्रा नलाग्ने हुन्छ । चिन्ता बढ्दै जाँदा गर्भवती महिलाको पेटमा भएको बच्चामा विभिन्न प्रकारका शारीरिक असर पर्न सक्छ ।
यदि गर्भावस्थामा निद्रा नपर्ने समस्या देखियो भने डाक्टरको सल्लाहअनुसारको औषधि मात्र सेवन गनुपर्दछ ।
२. हृदयघातको निम्तो
निद्रा लाग्ने औषधिको प्रयोगले मानिसमा हृदयघातको जोखिम बढ्ने डाक्टरहरू बताउँछन् ।
यस्तै, वैज्ञानिकहरूका अनुसार निद्रा लाग्ने औषधिको लगातार सेवनले मुटुसम्बन्धी विभिन्न रोगहरू उत्पन्न गर्न सक्छ । यस्ता औषधिको सेवनले रक्तचाप बढ्ने, टाउको दुख्ने, रक्तनलिमा समस्या हुने गर्दछ ।
३. कोमामा जाने खतरा
जो मानिस दिनको एक चक्कीभन्दा बढी निद्रा पर्ने औषधि सेवन गर्छन्, ती मानिस कोमामा जाने खतरा बढी हुन्छ । दमको समस्या भएका मानिसमा यस्तो खतरा ज्यादा हुन्छ ।
४. सम्झने शक्तिमा ह्रास
लामो समयसम्म निद्रा पर्ने औषधि प्रयोग गर्ने मानिसको सम्झने शक्ति कमजोर हुने गर्दछ ।
निन्द्रा पर्ने औषधिले मानिसको मस्तिष्कमा असर गर्छ । जसका कारण मानसिक रोगहरूको जोखिम बढ्छ ।
५. थकान बढ्ने
दैनिक निद्रा पर्ने औषधिको सेवन गर्ने मानिसमा आलस्य, थकान देखिने गर्छ । धेरै औषधिको प्रयोग गर्दा भोक पनि हराउँदै जान्छ ।