काठमाडौं । सत्ता समीकरणका लागि राजनीतिक दलहरुबीच छलफल र भेटवार्ता तीव्र भइरहे पनि जनता समाजवादी पार्टीले चैत ५ पछिमात्र यसबारे ठोस निर्णय गर्ने भएको छ । सो पार्टीले पछिल्लो समय राजनीतिक दौडधूप तीव्र तुल्याए पनि सत्ता समीकरण लगायतका विषयमा चैत ५ अघि निर्णय गर्ने सम्भावना न्यून देखिन्छ ।
आगामी चैत ५ गते सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यकारिणी बैठक बोलाउने निर्णय गरेको हो । पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा चैत ५ गते बिहान ११ः३० मा सुरु हुने बैठकमा समसामयिक राजनीतिक सम्बन्ध, संगठन समायोजन लगायतका विषयमा महत्वपूर्ण छलफल हुने जनाइएको छ ।
त्यतिन्जेलसम्म पार्टीले विभिन्न दलसँग उच्च तहमा छलफल गर्ने र एउटा खाका तयार पार्ने जसपा नेपाल स्रोतले जनाएको छ । स्रोतका अनुसार सत्ता समीकरणका लागि विभिन्न दलसँग छलफल गरेर तयार पारिएको खाकालाई कार्यकारिणी समितिको बैठकमा थप छलफलका लागि राखिने र आवश्यक निर्णय लिइने छ ।
प्रतिनिधिसभाको चौथो ठुलो दल जसपा नयाँ सरकार गठनका लागि हुने संसदीय समीकरणमा भने निर्णायक भूमिकामा देखिन्छ । जसपा नेपालले नेकपा एमालेलाई साथ दिएको अवस्थामा एकातिर गठबन्धन सरकार बन्न सक्ने देखिन्छ भने अर्कोतिर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसँग मिलेर पनि जसपा नेपालले नयाँ सरकारका लागि सत्ता साझेदारको भूमिका निर्वाह गर्न सक्छ ।