वीरगञ्ज । पर्सामा आफ्नै श्रीमतीलाई हत्या गरेको अभियोगमा भारतीय नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेमा बिहार पूर्वी चम्पारण थाना रामगढवाका ३६ वर्षीय असरफ मियाँ छन्।मंगलबार साँझ उनले आफ्नै श्रीमती बारा जितपुर सिमरा घर भएकी युनिका थापाको हत्या गरेको पर्सा प्रहरीले जनाएको छ।
उनीहरू दुबै जना लागुऔषध दुर्व्यसनी हुन्। मियाँ वीरगञ्जमा अटो चलाउँथे।थापाको भने यसअघि नै बिहे भएको थियो। पहिलो विवाह असफल भएपछि दुई वर्षअगाडि मियाँ र थापाबीच सम्पर्क भएर सँगै बसेको देखिएको पर्सा प्रहरीले जनाएको छ।मियाँ र थापाबीच औपचारिक बिहे भएको देखिँदैन। तर, उनीहरू दुई वर्षदेखि सँगै बसेको र दुबैबाट एक सन्तान जन्मिएको देखिएको छ।थापाको शरीर, घाँटी तथा हातमा चोटपटक छ।
लागुऔषध सेवनपछि मियाँले थापालाई कुटपिट गरेका थिए।
कुटपिटपछि थापालाई झुन्ड्याएको उनले प्रहरीमा बताएका छन्।‘झुन्ड्याएपछि पुन: निकालेर बिछ्यौनामा सुताएपछि झापड हानेको मियाँले बयानमा भनेका छन्,’ मियाँको बयान उद्धृत गर्दै पर्सा प्रहरी प्रवक्ता डिएसपी मनोजित कुँवरले भने।त्यसदिन थापा रक्सौल गएकी थिइन्। रक्सौलबाट फर्किँदा उनी नशामा थिइन्।मियाँ पनि नशामै थिए। यसक्रममा दुवैबीच विवाद भएको र कुटपिट भएको मियाँले प्रहरीलाई भनेका छन्।
‘नशाको विवादमाछि श्रीमानले कुटपिट थापालाई झुन्ड्याएको र नशाकै सुरमा निकालेर बिछ्यौनामा राखेको देखिन्छ,’ पर्सा प्रहरी प्रवक्ता डिएसपी कुँवरले भने।झुन्ड्याएर विछ्यौनामा झारेपछि थापाको प्राण गएको प्रहरीको प्रारम्भिक बुझाइ छ। प्रहरी पुग्दा कपडाले छोपेको अवस्थामा थापाको शव फेला परेको थियो।विवाद हुँदा थापाले आफ्नो हात काटेको र सम्झाउन खोज्दा नमानेपछि कुटपिट गरेर झुन्ड्याएपछि पुन: बिछ्यौनामा झारेको मियाँले प्रहरीलाई बताएका छन्।
मृतक थापाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। मियाँलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको डिएसपी कुँवरले बताए।