फेरि युनिटीजस्तै ठगीधन्दा, भारतीय ओरियन्सको नेटवर्किङबाट ठगिँदै नेपाली
वीरगंज संजाल
१४ आश्विन २०७६, मंगलवार ०९:०२
३६५३
काठमाडौं । युनिटी इन्टरनेसनलले अवैध नेटवर्किङ व्यवसाय चलाएर लाखौं नेपालीलाई ठगी गरेको घटना सेलाउन नपाउँदै भारतीय ओरियन्स नामको कम्पनीले यस्तै धन्दाबाट हजारौं नेपालीलाई ठगेको फेला परेको छ ।
भारतको लखिनपुर भन्ने ठाउँमा कार्यालय खोलेको ओरियन्सले लामो समयदेखि नेपालमा ५० किसिमका अवैध औषधि बिक्री गर्न सदस्य बनाएर नेटवर्किङ व्यवसाय चलाएको फेला परेको हो ।
युनिटी इन्टरनेसनलले अस्पताल र स्वास्थ्य बिमा पोलिसी बेच्न नेटवर्किङ व्यवसाय सञ्चालन गरेजस्तै ओरियन्सले औषधि बिक्री गर्न नेपालका गरिब बस्तीका सोझा युवकयुवतीलाई सदस्य बनाएको हो ।
पश्चिम नेपालमा भारतको सीमानजिकका जिल्लाका युवा दैनिक सयौंको संख्यामा यसका सदस्य बनिरहेका छन् । यसको सदस्य बन्न भारतीय रुपैयाँ ६० हजार (९६ हजार रुपैयाँ) शुल्क तिर्नुपर्छ ।
एकजना सदस्य बनेपछि उसले अरु दुईजनालाई सदस्य बनाउनुपर्ने नियम छ । यो नियमले एउटा नेपाली सदस्य बनेपछि अरुलाई सदस्य बनाउन ऊ आफैं लाग्नुपर्ने हुन्छ । यही कारण सदस्यहरुको संख्या दिनहुँ बढ्दै जान्छ ।
पश्चिमी क्षेत्रका विभिन्न जिल्लामा यसको कारोबार फैलिए पनि अहिलेसम्म कति सदस्य बनेका छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन । यस्तै नेपालबाट औषधि बिक्री र सदस्य बनाएर कम्पनीले कति रकम लगेको छ भन्ने तथ्यांक पनि छैन ।
कम्पनीले अहिलेसम्म बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चरपुरसम्म सदस्य बनाउने र औषधि बेच्ने कारोबार विस्तार गरेको छ । यो कम्पनीले खासै लेखपढ नगरेका, सोझा र गरिब परिवारका बिरामीलाई औषधि बेच्ने लक्ष्य बनाएर युवालाई सदस्य बनाई परिचालन गरेको देखिएको छ ।
बर्दियाबाट निर्मल घिमिरेले लेखेको यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।