सीटीईभीटीले ६० वटा स्थानीय निकायमा प्राविधिक शिक्षालय खोल्ने
वीरगंज संजाल
१४ आश्विन २०७६, मंगलवार ०८:५४
३४४३
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले यो वर्षभित्र करिब ६० वटा स्थानीय निकायमा प्राविधिक शिक्षा कार्यक्रम विस्तार गर्ने योजना रहेको जनाएको छ ।
सरकारको लक्ष्यअनुसार ७ सय ३५ स्थानीय निकायमा प्राविधिक शिक्षालय स्थापना गर्ने योजना बनाएको थियो ।
२०७४ साल फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो सम्बोधनमा देशलाई रोजगारमुखी युवा उत्पादन गर्न सो योजना सार्वजनिक गरेको योजनाअनुसार सबै स्थानीय तहमा सीटीईभीटीको शिक्षालय खोल्ने उल्लेख गरिएको थियो ।
लगत्तै सीटीईभीटीले एक वर्षभित्र २०७५ मा देशभर १ सय १ स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गरेको थियो ।
‘सीटीईभीटी स्थापना भएको २८ वर्षमा १ सय ९१ प्राविधिक शिक्षालय थिए, प्रधानमन्त्रीको घोषणापछि एक वर्षमै १ सय १ प्राविधिक शिक्षालय थप गरेर २ सय ९२ बनाएका छौं ।’ सीटीईभीटीका सदस्य–सचिव डा. पुष्परमण वाग्लेले बताए ।
उनका अनुसार यो वर्ष करिब ६० स्थानीय निकायमा प्राविधिक शिक्षालय विस्तार गर्ने योजना बनाइएको छ । सरकारले सञ्चालन गरेको ९–१२ को प्राविधिक धारअन्तर्गत चारवटा विषय र सीटीईभीटीले सम्बन्धन दिएका शिक्षण संस्थाको संख्या ५ सय ४१ पुगेको छ । अब २ सय १२ स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्न बाँकी छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले यो समाचार लेखेका छन् ।