काठमाडौं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । देशभरिका सबै घरधुरीमा शौचालय बनाएपछि देशलाई खुला दिसामुक्त घोषणा गरिएको हो ।
सोमबार एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् । उनले खुला दिसामुक्त राष्ट्र भएसँगै देश पूर्ण सरसफाइमा अग्रसर भएको घोषणा गर्दै सन् २०३० सम्म पूर्ण सरसफाइयुक्त देश बनाउने महाअभियानमा सक्रिय सहभागी हुन सबै नेपालीलाई आह्वान गरे ।
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाकांक्षा पूरा गर्ने स्पष्ट रूपमा एक कदम अगाडि बढेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘खुला दिसामुक्त राष्ट्र घोषणा सभ्य समाज निर्माणको एक महत्वपूर्ण सिँढी हो । यो घोषणासँगै खुला रूपमा दिसा गर्ने असभ्य पहिचानबाट मुक्ति मात्र होइन, स्वच्छ जीवन जिउने सभ्यताको एक सिँढी चढ्नेछौं ।’
केही वर्ष अघिसम्म सरसफाइको कमीका कारण हुने बालमृत्युदर हाल उल्लेख्य रूपमा घट्नुले आधारभूत सरसफाइमा देश निकै अगाडि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ ।