दार्चुलाका शिक्षक कैलाशबहादुर चन्दको मंगलबार साँझ ५ बजे निधन भयो। हिमालय मावि हुतीका स्थायी शिक्षक रहेर रिटायर्ड भई कान्छी श्रीमतीसँग दार्चुलामा बस्दै आएका थिए चन्द। जेठी श्रीमती पारि भारतको पिथौरागढमा बस्छिन्। श्रीमानको निधनको खबर पाएसँगै जेठीले आफ्ना छोरालाई दाहसंस्कारमा सहभागी हुन दार्चुला पठाइन्। जेठी श्रीमतीका छोरा (नाम खुलेको छैन) बुवाको दाहसंस्कार तथा काजकिरियाका लागि खबर पाउनेवित्तिकै हिँडे।
छोरा आउने भनेर दाहसंस्कारको समय बुधबार बिहानलाई तोकिएको थियो। छोरा बिहानै धारचुलास्थित महाकाली पुलनजिक आइपुगे। नेपाल र भारतका प्रशासनबीच भएको सहमति अनुसार सातामा दुई दिन बुधबार र शनिबार पुल बिहान १० देखि ३ बजेसम्म खुल्नुपर्ने हो। संयोगले आज बुधबार सहमति अनुसार पुल खुल्ने दिन। पिथौरागढबाट बिहानै पुलको गेटमा पुगेका छोराले खलंगा आउन भारतीय अधिकारीहरुसँग पहल गरे। तर सकेनन्। पहल गर्दा नभएपछि १० बजे खुल्ने पर्खाइमा बसे। १० बज्यो पुल खुलेन। फेरि उनले भारतीय अधिकारीहरुसँग हारगुहार गरे, खुलेन। दिउँसाको १२ बजिसक्यो गेटमा कुर्दा, पत्र बनाइदिने भनियो। तर बनेन्। खलंगाबाट आफन्तले फोन गरेर छिटो आउन भनिरहेका थिए। उनैलाई कुरिरहेका थिए।
तर गेट खुले पो जानु। १२ बजेपछि मौसममा बदलाव आयो। पानी पर्लाजस्तो हुन थाल्यो। अनि मलामीहरु अब रोक्नहुन्न, मौसम विग्रिए दाहसंस्कार नै प्रभावित हुन्छ भनेर अगाडि बढे। पारि गेटमा कुरिरहेका छोरालाई खबर गरे। साढे १२ बजेपछि महाकाली किनारमा दाहसंस्कार सुरु भयो। गेटमा रहेका छोरा पारीतिरबाट दाहसंस्कार हुने ठाउँतिर आए। तर नदी पारी उभिएर हेरे। पिथौरागढबाट बुवालाई अन्तिम बिदाइ तथा दागबत्ती दिन आएका उनले पारिबाट हेरेरै चित्त बुझाउनुपर्यो। दागबत्ती दिन पाएनन्। डेढ बजेमात्रै भारतीय अधिकारीले पुलको ताला खोले। अनिमात्रै छोरा दौडिएर खलंगा आए। दागबत्ती दिन नपाए पनि किरिया बस्नबाट भने उनी वञ्चित भएनन्।
यो सबै घटनालाई नियालिरहेका थिए दार्चुलाका पत्रकार भोजराज जोशी। निधन भएका शिक्षकसँग राम्रो चिनजान भएकाले मलामी आएका छोरालाई नाका रोक्दा जोशी दु:खी पनि छन्।
‘डेढ बजेपछि पुल खुलायो। चन्दका छोरा विहानैदेखि कुरिराखेका थिए। पुल खुलाउन भारतसँग पहल गर्दै थिए। भारतले ढिलो गर्यो। मौसम प्रतिकूल हुँदै पानी पर्ने जस्तो भयो। साढे १२ बजे मलामी दाहसंस्कारका लागि गए। भारतले ढिला गर्यो। व्यापारिक प्रयोजनका लागि भने अहिले खुल्यो। सर्वसाधारण आवतजावतका लागि खुल्यो। तर मृत्यु संस्कार जस्तो संवेदनशील घडीमा खुलेन,’ उनले भने।
पत्रकार जोशीले पुल खोल्ने कुरामा भारतीय मनपरी रहेको सुनाए। ‘कहिले १० बजे नै खोल्छ। कहिले साढे १२ बजे खोल्छ। इण्डियालाई जतिबेला मन लाग्छ त्यही बेला खोल्छ। भारतीय दबदबा छ। यहाँ भोटेहरुको बाहुल्यता छ। भारतीय प्रशासनमा उनीहरुकै मान्छे छन्। उनीहरुको श्राद्ध भए पनि खुल्ने, मान्छे बिरामी भए खुल्ने, मलामी भए खुल्ने, सामान ल्याउन खुल्ने। अब हामीहरु कोही भएन,’ उनले भने।
पत्रकार जोशीका अनुसार यो तस्रो घटना हो मृत्यु संस्कारमा सहभागी हुँदा सहजै आउन नपाएको। ‘एक महिनाअघि एक जना बडाल थरका व्यक्ति पनि मलामी जान पाएनन्। उनका आफन्त महाकाली पारि भारतमा बितेका थिए। भारतीय प्रशासनले पुल खोल्न नमान्दा जान पाएनन्। त्यतिखेर पनि मलामीबाट बञ्चित भए। व्यापारिकभन्दा पनि मलामी मानवीयताका हिसाबले महत्व हुनुपर्ने हो। उनीहरुलाई नै पहिले पठाइदिए हुन्थ्यो भन्ने हो।’
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने यो घटनाबारे आफूहरुलाई जानकारी नभएको बताए। ‘खोइ हामीलाई कसैले केही भनेको छैन। यहाँ निवेदन हाल्यो भने हामी उता पठाउँछौं। आज त आइराछन् मान्छे। अहिले त पुल खुल्या छ,’ उनले भने।