काठमाडौं । नेपाल वायुसेवा निगमका १४ मध्ये ८ जहाज ‘ग्राउन्डेड’ छन्। तिनको प्रयोगहीनता त छँदैछ, विमानस्थलमा थन्किएबापत तिर्नुपर्ने शुल्क निकै महँगो पर्छ। वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र दिनको करिब दुई लाख रुपैयाँ तिर्नुपर्छ। एक साताभन्दा लामो समयदेखि एउटा वाइडबडी विमानस्थलमा छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।
त्यसले दैनिक १६ सय ९८ अमेरिकी डलर भाडा तिर्नुपर्छ। हालको विदेशी विनिमय दर ११३ रुपैयाँअनुसार यसले दैनिक १ लाख ९१ हजार ८७४ रुपैयाँ तिर्छ। ‘विमानस्थल सेवा शुल्क विनियमावली २०६७’ अनुसार कुनै पनि जहाजलाई तीन घण्टासम्म पार्किङ निःशुल्क गरिएको छ। त्यसपछि हरेक ६ घण्टामा एक पार्किङ हुन्छ। एक दिनलाई चार पार्किङ हिसाब गरेर नागरिक उड्डयन प्राधिकरणले दैनिक पार्किङ शुल्क तोक्छ। यो जहाजको तौलअनुसार लाग्छ।
निगमसँग एक वर्षदेखि ग्राउन्डेड एउटा बोइङ छ। १९० सिट क्षमताको बी७५७ एसीबी नामको यो जहाज २०७५ मंसिरदेखि ग्राउन्डेड छ। यसले पार्किङ शुल्क दैनिक ५५९।२० अमेरिकी डलर (६३ हजार १८९ रुपैयाँ) तिर्छ। यो मासिक करिब १८ लाख ९५ हजार हुन्छ। मंसिरयता १० महिनामा यसले १ करोड ८९ लाख ५६ हजार ८ सय ८० रुपैयाँ तिरिसकेको छ।