बिरगंज । विश्वकप फुटबलको छनौट अन्तर्गत नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा ब्राजिल विजयी भएको छ।
विश्वकप २०२२ का लागि दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गतको खेलमा ब्राजिलले उरुग्वेलाई २–० ले पराजित गरेको हो। घरेलु मैदानमा भएको खेलमा ७१ औँ मिनेटमा रातो कार्ड पाएर एडिन्सन काभानी बाहिरिएपछि उरुग्वे १० खेलाडीमा सीमित भयो ।
पहिलो हाफमै गरेका दुई गोल ब्राजिलको जितमा निर्णायक बने । उसका लागि ३४ औँ मिनेटमा आर्थर मेलो र ४५ औँ मिनेटमा रिचार्लिसनले गोल गरेका हुन् । छनौट चरणमा अहिलेसम्म सबै चार खेल जितेको ब्राजिल १२ अंकसहित शीर्ष स्थानमा पुगेको छ ।
बुधबार बिहान भएको अर्को खेलमा पेरुलाई २–० ले पराजित गरेको अर्जेन्टिना १० अंकसहित दोस्रो स्थानमा छ । अवे मैदानमा भएको खेलमा अर्जेन्टिनाका लागि १७ औँ मिनेटमा निकोलास गोन्जालेज र २८ औँ मिनेटमा लौतारो मार्तिनेजले गोल गरेका हुन् ।