सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक नवजात शिशु फालिएको अवस्थामा फेला परेका छन् । ह्युमपाईप भित्र जिवितै फालेको अवस्थामा फेला परेका एक नवजात शिशुलाई सप्तरीमा गाउँलेले उद्धार गरी प्रहरीलाई जिम्मा लगाएका छन् ।
छिन्नमस्ता गाउँपालिका वडा नं.३ मा गाउँलेले भेटेका ती शिशुको अहिले राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेद्र धमलाका अनुसार वडा नं.स्थित सखडा गोविन्दपुर सडकमा रहेको ह्युम पाईप भित्र फालिएका ती शिश ु(छोरा) लाई मंगलबार साँझ सौच गएका बेला स्थानीयले रुँदै गरेको अवस्थामा फेला पारेपछि उनको उद्धार गरी ईलाका प्रहरी कार्यालय छिन्नमस्तामा खबर गरेका थिए ।
जिउभरि कमिला लागेका ती शिशुलाई सोही दिन राजविराज ल्याई अस्पतालमा भर्ना गरिएको थियो । उनलाई एनआईसियूमा राखेर उपचार सुरु गरेपछि बुधबार विहानबाट स्वास्थ्यमा सुधार आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.रञ्जितकुमार झाले जानकारी दिएका छन् । फालिएका वालकको पालनपोषणकालागि ईच्छा व्यक्त गर्दै उनलाई जिम्मा लिन चाहनेहरुको अस्पतालमा भिडै लाग्न थालेको झाले बताए ।
प्रहरी उपरीक्षक धमलाले अबैध सम्बन्धबाट जन्मेका कारण ती बालकलाई फालिएको हुन सक्ने आशंका व्यक्त गर्दै थप अनुसन्धान जारी रहेको बताए । भारतीय सीमावर्ती क्षेत्र नजिकै रहेको उक्त स्थानमा फालिएका ती बालक नेपाली वा भारतीय कसले फालेका हुन् भन्ने विषयमा दुवै कोणबाट अनुसन्धान थालिएको उनले जानकारी दिएका छन् ।