बिरगंज । नेकपा स्थायी कमिटी सदस्य मातृका यादवले नेकपाका नेता एवम् संविधानसभा सदस्य राजकुमार गुप्ताको योजनामा पर्सा घट्ना भएको दाबी गरेका छन् ।आइतबार सञ्चारमाध्यमहरुसँग कुराकानी गर्दै नेता यादवले गुप्ताकै निर्देशनमा विन्दवासिनी गाँउपालिकाका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्या भएको भए पनि प्रहरीले किटानी जाहेरी नलिएको आरोप लगाए ।असोज ६ गते गाँउपालिकाको शपथ ग्रहणमा दोहोरो झडप हुँदा घाइते भएका चौरसियाको उपचारका क्रममा ज्यान गएको थियो ।
आफुले गृहमन्त्री रामबहादुर थापासँग कुराकानी गर्दा समेत मुद्दा दर्ता हुने जानकारी पाएको भन्दै यादवले पर्सा सिडिओ र प्रदेश डिआइजीले भन्दा समेत मुद्दा दर्ता नभएको बताए ।’गृहमन्त्रीको पनि कुरा चल्दैन भने त प्रधानमन्त्रीले नगर भनेर भनेको होला या प्रधानमन्त्रीको अफिसको मान्छेले भन्यो होला । एउटा कमरेडको हत्या हुन्छ, कमरेडले इन्साफ पाउँदैन भने आम नेपाली जनताले कसरी निसाफ पाउँछ? ‘यादवले भने,’ राजकुमारको नाम पेटबोलीमा दिनुस् न भन्ने एसपीको जवाफ छ । घटनास्थलमा नगएको भन्ने प्रहरीको भनाइ छ । योजनाकार घटनास्थलमा जादैन, त्यसैले राजकुमारविरूद्ध मुद्दा दर्ता नभएमा त्यसको अर्थ हुँदैन ।’
मुख्य योजनाकारको नाम नदिइकन गरिएको मुद्दा कमजोर हुने समेत उनले बताए । ‘सर्वसम्मत सपथ गराउने निर्णय भएको हो । राजकुमारको असन्तुष्टि पार्टीमा जानकारी पनि छैन । तर उनले नै योजना बनाएर आफ्नै साथीहरुको हत्या गरेका छन्,’ यादवले भने,’पार्टीमा तस्करको बोलवाला बढ्दै गएपछि यस्तै हुन्छ । इमान्दारहरु पाखा लाग्छन् । पैसावालहरूमात्रै अघि बढ्छन् ।’ घटना हुँदैछ भनेर एसपीलाई जानकारी गराउँदा समेत एसपीले वास्ता नगरेको यादवको आरोप छ । सबैतिरबाट दबाब आएपछि गुप्ताको घरबाट आक्रमणकारीहरू फेला परेको भए पनि माथिको आदेशमा गुप्तालाई छोडिएको र अरूलाई पनि उपचार गर्ने वहानामा भगाइएको यादवले बताए ।
पार्टीको सदस्यता समेत नभएकालाई गाँउपालिकामा पार्टीको अध्यक्ष र सचिव बनाउने योजना सफल नहुँदा गुप्ताले घटना गराएको यादवको भनाइ छ ।गुप्ताले आफूनिकटसँग आक्रमण गर्न भनेको भए पनि मार्न नभनेको भनेर भन्ने गरेको यादवको दाबी छ । नेकपा पर्सा इन्चार्ज एवम् केन्द्रीय सदस्य रामचन्द्र शाह तेलीले पर्सा घटनालाई पूर्वएमाले र पूर्वमाओवादी भनेर जोड्न नमिल्ने बताए ।
‘म पूर्वएमालेबाट इन्चार्ज हो । नागेन्द्र चौधरीजी प्रदेश २ को सह इन्चार्ज हो । गाउँ कमिटीका सबै साथीहरू आन्दोलनमा छन् । मृतक चौरसिया पूर्वमाओवादी पक्षधर भए पनि गाउँ कमिटी सचिव र पर्सा जिल्ला कमिटी सदस्य हुन्,’ रामचन्द्रले भने,’एमाले र माओवादीको कुनै विवाद छैन । यहाँ सबै मिलेका छन् । राजकुमारका केही मान्छेहरुले त्यसो भन्न सक्छन् ।’
सिडिओले यसअघिनै मुद्दा दर्ता हुन्छ भनेको भए पनि मुद्धा दर्ता नहुनु रहस्यको विषय भएको उनले बताए ।कसैको निर्देशनमा मुद्दा दर्ता नभएको हुनसक्ने उनले बताए।शनिबार विज्ञप्ति जारी गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग गरेका थिए ।