वीरगंज | प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजामति कर्मचारीको अधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगनको माग गरेका छन्। २४ गते अधिकारिक ट्रेड युनियनको निर्वाचन हुन गइरहेको छ। मुख्यमन्त्री राउतले कोभिडको महामारीको कारण सबैभन्दा बढी प्रभावित रहेको बताउँदै स्थगनको माग गरेका हुन्।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई पत्र लेखेर नै कोरोना, थ्रेस होल्डको विवाद र सर्वोच्च अदालतमा समेत मुद्दा विचराधीन रहेको अवस्थालाई ध्यानमा राखी हाल निर्वाचन स्थगन गर्न अनुरोध गरेका छन्। नेपाल मधेसी निजामती कर्मचारी मञ्चले आधिकारिक ट्रेड युनियनको चुनाव स्थगनको माग गर्दै आन्दोलन गरिरहेको छ। अदालतमा मञ्चले नै मुद्दा दायर गरेको छ भने अन्य कर्मचारी संगठन निर्वाचनको तयारीमा व्यस्त छन्।
तीन वटा संगठन निर्वाचनको प्रचारप्रसारमा लागेका छन्। नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), नेपाल निजामती कर्मचारी युनियन (संघ) चुनावको तयारीमा जुटेका हुन्। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचनको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले १०७ स्थानमा कार्यालय स्थापना गरेर चुनावका काम गरिरहेको छ। मधेशी कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरी जबरजस्ती निर्वाचन गरेमा नराम्रो हुने बताउँछन्।