एजेन्सी । एनआइएच अर्थात् अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थानले, एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीको कोरोना खोपको ट्रायलमा देखिएको गम्भीर ‘साइड इफेक्ट’ पछि यसलाई अपनाउने सम्बन्धी शंका व्यक्त गरेको छ । यही कारण अमेरिकामा अझै केही समय यो खोपको ट्रायल रोकिने निर्णय भएको छ । ट्रायलमा सहभागी एक व्यक्तिको मेरुदण्ड ‘ड्यामेज’ भएपछि यसअघि खोपको सुरक्षाबारे स्वतन्त्र अनुसन्धान गरिएको थियो ।
एनआइएच डिभिजनका भाइरल रिसर्च प्रमुख, डाक्टर अभिन्द्रनाथले भनेका छन्, “यतिबेला सबै उच्च स्तरीय विभाग यस सम्बन्धी चिन्तित छन् । किनकी हामी सबै यही खोपको आशमा छौँ र एउटा जटिल समस्या देखा पर्नुले पूरै काम भङ्ग पारिदिन सक्छ |
नाम नलिएका ती सहभागीलाई वास्तवमा के भएको थियो भन्ने स्पष्ट जानकारी नदिनुले खोप सम्बन्धी अनिश्चिततालाई झन बढाइदिएको छ जसले खोप परीक्षणमा भइरहेको प्रगतिलाई पनि निराशामा बदलिदिएको उनले बताए ।
अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर निर्माण भइरहेको सो खोपको विश्वव्यापी ट्रायलमा एक बेलायती सहभागीको मेरुदण्डमा गम्भीर ‘इन्फ्लामेसन’ देखिएपछि केही समय स्थगित भएको थियो तर अहिले उनी अस्पतालबाट बाहिरिसकेको र ठीक भइसकेको कम्पनीले जनाएको छ ।
एस्ट्राजेनेकाले बिरामीलाई ‘ट्रान्सभर्स माएलिटिस’ नै भएको हो भनेर पक्का नगरेपनि न्युरोविद्हरुले उनमा त्यही समस्या देखिएको हुनुपर्ने दाबी गरिरहेका छन् । ट्रान्भर्स मेएलिटिसले मेरुदण्ड सुन्निने लगायतका लक्षण देखाउँछ जसपछि शरीर दुख्ने, मांसपेसीहरु कमजोर हुने र प्यारालाइसिस समेत हुन सक्छ । तर घटना बाहिर आउनासाथै सम्पूर्ण ट्रायल रोक्दै बेलायतका स्वास्थ्य नियामकहरुले यसको अध्ययन गरि, खोप परीक्षण पुनः जारी राख्न सकिने अनुमति दिएका हुन् ।
यस्ता समस्या आगामी दिनहरुमा पनि देखा पर्न सक्नेछ र त्यही सम्भावित खोप पछि गएर लाखौँ मानिसहरुमा प्रयोग गर्नुपर्ने हुनाले पनि यसलाई सामान्य रुपमा लिन नसकिने नाथ बताउँछन् । उनले भनेका छन्, “यसमा हामी पनि सकेजति मद्दत गर्न चाहान्छौँ तर स्पष्ट जानकारीको अभावले सबैलाई अफ्ठ्यारो बनाइरहेको छ ।”
वैज्ञानिक र अनुसन्धानकर्ताहरुले खोपका असामान्य साइड इफेक्टको जोखिमबारे थाहा पाएपछि मात्र यसले महामारी थाम्न सक्छ या सक्दैन भन्ने निश्चित मूल्यांकन गर्न सक्छन् । त्यसैले पनि अहिले सो बिरामीमा देखिएको दुर्लभ समस्याको मुख्य कारण जान्न जरुरी भएको नाथ बताउँछन् ।
उनले भनेका छन्, “कुनै पनि नयाँ खोप प्रयोगमा ल्याउने निर्णय गर्नु अगाडि धेरै पक्षलाई ध्यानमा राख्नुपर्ने हुन्छ । सबै शत् प्रतिशत प्रमाणित भएपछि मात्र मान्छेमा खोप लगाउन सकिन्छ किनकी यस्तो बेलामा स्वस्थ व्यक्तिलाई बिरामी पार्ने काम हामी कदापी गर्न चाहदैनौँ । ”
एनआइएचले अहिलेसम्म पनि ती बेलायती सहभागीको रगत र टिस्युको स्याम्पल प्राप्त गरिसकेको छैन । यसमार्फत अमेरिकी वैज्ञानिकहरुले यस खोपले मानिसमा एन्टिबडिज विकास गर्नुका साथै त्यसको प्रतिक्रियामा दिमाग वा मेरुदण्डका टिस्युमा पनि हमला गर्छ गर्दैन भन्ने पत्ता लगाउन सक्नेछन् ।
तर यस किसिमको अध्ययन गर्न एकदेखि दुई महिनासम्म लाग्ने बताइएको छ । अमेरिकाको खाद्य तथा औषध विभाग, एफडीएले यस सम्बन्धी निर्णय लिइ अगाडि बढ्न कति समय लाग्ला भन्नेमा अहिले कुनै प्रतिक्रिया नदिने बताएको छ । एस्ट्राजेनेकाकै खोप परीक्षणको प्रारम्भिक ट्रायलमा पनि एक सहभागीमा यस्तै साइड इफेक्ट देखा परेको थियो तर त्यतिबेला अनुसन्धानकर्ताले सो समस्या खोपसँग सम्बन्धित नभइ अरु नै स्वास्थय जटिलताका कारण भएको पत्ता लगाएका थिए ।
ट्रान्भर्स मेलाइटिस जस्ता रोगबारे अध्ययन गरिरहेका न्युरोलोजिस्टहरुका अनुसार यो समस्या अत्यन्तै दुर्लभ मानिन्छ र २ लाख मान्छे मध्ये १ जनालाई हुने सम्भावना हुन्छ । प्रायः बिरामीमा यो कुनै भाइरसप्रति हाम्रो शरीरको प्रतिरोधात्मक प्रतिक्रियाको नतिजा स्वरुप देखा पर्ने गर्दछ । तर कतिपय अवस्थामा खोपको ट्रायलमा सहभागी भएकाहरुमा त्यसअघि कहिल्यै नदेखिएको स्वास्थ्य समस्या पनि हुन सक्छ र खोपको प्रतिक्रियामा व्यक्तिको शरीरले नयाँ साइड इफेक्ट देखाउँदा सहभागी बिरामी पर्न सक्छन् । यस्तो अवस्थामा चाहिँ ट्रायललाई जारी राख्न सकिनेछ ।
तर यसमा ‘मलिक्युलर मिमिक्री’ नामक समस्यालाई अझ बढी चिन्ताजनक मानिएको छ । यसमा खोपको केही गुण व्यक्तिको दिमाग वा मेरुदण्डको टिस्युसँग मेल खान सक्छ जसले खोपको प्रतिक्रियामा ‘इम्युन अट्याक’ निम्त्याउन सक्छ । यस्तो हुँदा, ट्रायल जारी राख्ने हो भने आगामी दिनहरुमा ट्रान्सभर्स मेइलिटिस हुने जोखिम झन बढ्ने डाक्टर विलियम स्काफेनर बताउँछन् । उनी ‘भेन्डरबिल्ट युनिभर्सिटी स्कुल अफ मेडिसिन’ का संक्रमक रोग विशेषज्ञ हुन् ।
अक्सफोर्ड युनिभर्सिटीका अनुसार यो खोप हालसम्म विश्वव्यापी रुपमा १८ हजार जनाले लगाइसकेका छन् । जुनमा सुरु भएको तेस्रो चरणको ट्रायलमा १० हजारलाई सहभागी गराउने लक्ष्य राखेको छ । अमेरिकी ट्रायलमा मात्र तीस हजार भन्दा बढी स्वयमसेवकहरुलाई नियुक्त गर्ने बताइएको छ । दक्षिण अफ्रिकाले पनि सुरक्षा र प्रभावकारीता सम्बन्धी परीक्षणमा २ हजारलाई सहभागी गराउने बताएको छ । यसबाहेक अमेरिकामा अन्य दुईवटा कोरोना खोपको ट्रायल पनि अन्तिम चरणमा पुगेको छ । सीएनएन