वीरगञ्ज । गण्डक अस्पतालका कर्मचारी रेम्डेसिभिर औषधीको कालोबजारीमा संलग्न रहेको खुलेको छ ।भदौ महिनाको सुरुवाती समयसम्म रेम्डेसिभिर औषधी नेपालमा सहज रुपमा नपाइने अवस्था रहेको र त्यही बेला अस्पतालका कर्मचारीले यो औषधी महंगो मूल्यमा बिक्रि गरेको खुलेको हो ।
अस्पतालमा गम्भीर अवस्थाका संक्रमितलाई चिकित्सकले रेम्डेसिभिर औषधी प्रयोग गर्नुपर्ने भन्दै सिफारिस गरिदिने र अस्पतालका कर्मचारीले महंगो मूल्यमा यो औषधी उपलब्ध गराउने गरेका थिए ।गएको साउन अन्तिम साता कोभिड संक्रमित भएर उपचारका लागि गण्डक अस्पताल भर्ना भएका वीरगञ्जको नगवाका एक जना कोभिड संक्रमितको परिवारसँग रेम्डेसिभिर औषधीका लागि अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारीले झण्डै २ लाख रुपैयाँ लिएका हुन् ।
अस्पतालको फार्मेसीमा कार्यरत बाराको पर्सौनी गाउँपालिका ४ का सर्फराज आलमले संक्रमितको उपचारका लागि ६ भाइल रेम्डेसिभिर औषधीको १ लाख ९६ हजार लिएका हुन् ।संक्रमितको परिवारसँग आलमले साउन ३१ गते, भदौ १ र २ गते गरेर तीन पटक गरी १ लाख ९० हजार बुझेका थिए ।उनले पहिलो पटक गण्डक अस्पतालकै मुलद्वार अगाडी संक्रमितका परिवारसँग ९५ हजार ५ सय रकम बुझेका थिए भने १ गते तराई हस्पिटलभित्र ७० हजार र २ गते संक्रमितको घरैमा पुगेर २५ हजार रकम बुझेका थिए ।
बुवाको ज्यान बचाउन संक्रमितका छोराले जग्गा घितोमा राखेर चर्को ब्याजदरमा लिएको पैसा रेम्डेसिभिर खरिदका लागि आलमलाई बुझाउन बाध्य भएका थिए ।आलमले ४ भाइल अस्पतालको फार्मेसीबाटै उपलब्ध गराइदिएका थिए भने २ भाइल वीरगञ्जको दुर्गा हल नजिकबाट लिन संक्रमितका परिवारलाई पठाएका थिए । भदौ १ र ३ गते १/१ भाइल रेम्डेसिभिर संक्रमितका परिवारले दुर्गा हल नजिक पुगेर लिएका थिए ।
तीन पटक गरेर १ लाख ९० हजार ५ सय रकम बुझेका आलमले पटक पटक गरेर भाइल उपलब्ध गराएका थिए ।संक्रमितको उपचारमा खटिएका डा.प्रशान्त बरनवालले रेम्डेसिभिर औषधी चलाउन सिफारिस गरेका थिए । डा. बरनवालले संक्रमितको अवस्था गम्भीर देखिएकाले आफूले रेम्डेसिभिर चलाउन सिफारिस गरेको बताएका छन् । त्यसबेला नेपालमा रेम्डेसिभिरको उपलब्धता नरहेकाले आफूले औषधी उपलब्ध गराउन उनका परिवारलाई भनेको र परिवारले कहाँबाट औषधी ल्याए भन्ने जानकारी नभएको बताए ।
पिडित परिवारले जिल्ला प्रशासन कार्यालय पर्सामा आज उजुरी दिएपछि घट्ना बाहिर आएको हो । परिवारले प्रशासन कार्यालयमा दिएको निवेदनमा गण्डक अस्पताल, चिक्तिसक डा. प्रशान्त बरनवाल र सरफरोज आलमलाई विपक्षी बबनाइएको छ ।उजुरी बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले घट्नाबारे थप अनुसन्धान गरी संलग्न जोकोहीलाई पनि कडा भन्दा कडा कारवाही गर्ने प्रतिबद्दता व्यक्त गरे ।यात्रादैली बाट सभार गरिएको छ |