सिमरा : पर्सा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ ।
तत्कालिन बन्यजन्तु आरक्षलाई २०७४ सालमा राष्ट्रिय निकुञ्जका रुपमा घोषणा गरिएलगत्तै पर्यटकको गतिबिधी बढ्न थालेको यस निकुञ्जमा गत आर्थिक बर्षमा भने अपेक्षा गरेअनुरुप पर्यटक भित्रिन नसकेको निकुञ्जको कार्यालय आधाभार बाराले जनाएको छ ।
कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा बाह्य तथा आन्तरिक गरि चार सय १० जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जुन आर्थिक वर्ष २०७४÷७५ को भन्दा कम हो । कार्यालयको तथ्यांक अनुसार सो आर्थिक बर्षमा कुल पाँच सय पाँच पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
जसमध्ये ९५ पर्यटक बिदेशी रहेको कार्यालयले जनाएको छ । यता गत आर्थीक बर्ष २०७५÷७६ मा घुम्न आउने चार सय १० मध्ये जम्मा सात मात्रै बिदेशी पर्यटक छन् ।
विश्वमै दुर्लभ पाटे बाघ, एकसिंगे गैंडा, गौरी गाई, घोड गधा मुख्य आकर्षणका रुपमा रहेको यस क्षेत्रलाई बन्यजन्तु मैत्री बनाउँदै तिनको संरक्षणमा ध्यान दिने भन्दै बिगत २०४० सालदेखी आरक्षको रुपमा रहेको ४ सय ९९ बर्ग कि.मी. बनमा २०७२ सालमा १२८.३९ बर्ग कि.मी. थप गरी बिस्तार गरीएको थियो ।